रामेछाप, पुस २१ । रामेछापको खाँडादेवी गाउँपालिका–२ र ७ को सिमानामा अवस्थित ऐतिहासिक धार्मिक शक्तिपीठ खाँडादेवी—जहाँ हरेक बिहान विश्व शान्ति, समग्र प्राणी र सम्पूर्ण जगतको रक्षाको कामनासहित पूजा–आराधना गरिन्छ। प्राणी र प्रकृतिको रक्षा गर्ने देवीका रूपमा खाँडादेवीलाई पुकार्ने परम्परा यहाँ पुस्तौँदेखि जीवित छ।
स्थानीय बासिन्दाका लागि खाँडादेवी केवल मन्दिर मात्र होइन, आपत्–विपतमा पहिलो सम्झने नाम हो। ‘केही अप्ठेरो पर्यो भने सबैभन्दा पहिले खाँडादेवीकै नाम लिन्छौँ,’ स्थानीय अम्बरबहादुर मगर भन्नुहुन्छ।
वर्षभरि कुनै बाधा, दुःख वा सङ्कट परे खाँडादेवीलाई पुकार्ने र समस्या टरेपछि कम्तीमा वर्षमा एक पटक पूजा लिएर जाने चलन रहेको उहाँले सुनाउनुभयो।
कामना पूरा भएपछि भाकलसहित दर्शन
खाँडादेवीप्रति आस्था स्थानीयमा मात्र सीमित छैन। देशभरका भक्तजनहरू आफूले मागेको कामना पूरा भएपछि पूजा र बलि लिएर यहाँ आउने गर्छन्। सर्लाहीको हरिऔनबाट दर्शनका लागि आउनु भएका पीताम्बर ढुङ्गानाले आफूले चाहेको कुरा पूरा भएपछि खाँडादेवी दर्शन गर्न आएको बताउनुभयो।
‘मेरो पुर्ख्यौली थलो उदयपुर हो,’ उहाँले भन्नुभयो, ‘सर्लाहीबाट हप्तैपिच्छे गाडी रिजर्भ गरेर दर्शनका लागि आउनेहरू भेटिन्छन्, कामना पूरा भएपछि भाकलसहित आउने चलन छ।’
काठमाडौं उपत्यकादेखि भारतसम्मका भक्तजन
खाँडादेवी दर्शनका लागि रामेछाप र छिमेकी जिल्लाबाट मात्र होइन, काठमाडौं उपत्यकाबाट दैनिक बस रिजर्भ गरेर भक्तजनहरू आउने गरेका छन्। तराईका विभिन्न जिल्ला र भारतबाट समेत दर्श नार्थी आउने गरेको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ बताउनुहुन्छ।
‘ठेस लाग्दा आइया आमा भनेर सम्झिएजस्तै, यहाँका मानिसले जस्तोसुकै आपत् परे पनि खाँडादेवीलाई सम्झन्छन्,’ अध्यक्ष तामाङ भन्नुहुन्छ।
यही गहिरो आस्थाका कारण मन्दिरमा दैनिक दर्शनार्थी आउने गरेका छन्। विशेष गरी शनिबार र मंगलबार दर्शनार्थीको घुइँचो लाग्ने उहाँले जानकारी दिनुभयो।
किराँतकालदेखि जोडिएको इतिहास
खाँडादेवीलाई किराँतकालीन देवी मानिन्छ। पहरी समुदायले खाँडादेवीलाई आफ्नी चेलीका रूपमा मान्ने परम्परा छ। रामेछापको गेलुकी पहरीकी छोरीलाई रानी बनाउन राजाले दरबार लगेकामा त्यहाँ नसजाए पछि घर पठाइदिँदा यही ठाउँमा आएर अलप भएकी र तीतेपातीको छाप्रो बनाएर बसेको भन्ने कहावत छ ।
त्यसैले गेलुका पहरीहरू बडादशैँमा चेली भेट्न भनेर कोसेली सहित खाँडादेवी जाने गर्दछन् ।
खाँडादेवी मन्दिरको चर्चा देवीभागवत महापुराण र शिवपुराणको हिमवत् खण्डमा समेत उल्लेख भएको पाइन्छ। त्यसैले यो निक्कै पुरानो मन्दिर भएको पुष्टि हुन्छ ।
मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट, त्यसअघिका चाँदीका जन्तर र गहनाहरू आज पनि सुरक्षित छन्, जसले मन्दिरको पुरातात्विक महत्त्व झल्काउँछन्। यही कारण पुरातत्त्व विभागको समन्वयमा पुरातात्विक संरचना नखलबलिने गरी मन्दिरको पुनर्निर्माण तथा परिसरमा आवश्यक संरचना निर्माण गरिएको छ।
पृथ्वीनारायण शाह र खाँडादेवी
नेपाल एकीकरणको क्रममा राजा पृथ्वीनारायण शाहले पूर्वी किल्ला बलियो बनाउन सिन्धुलीगढीपछि खाँडादेवीलाई सहायक गढीका रूपमा प्रयोग गरेको जनश्रुति छ। युद्ध जित्नुअघि खाँडादेवीसँग आशीर्वाद मागिएको र विजयपछि खाँडादेवीको शिला दरबार लैजान खोज्दा तीन पटकसम्म बाटोमै अलप भई पुनः खाँडादेवीमै फर्किएपछि त्यहीँ पूजा–बलिको व्यवस्था गरिएको विश्वास छ।
त्यसयता बडादशैँमा खाँडादेवीलाई हाँस र बोका, कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा बलि दिने परम्परा सुरु भएको बताइन्छ। विसं २००९ सम्म दरबारबाट पूजा खर्च पठाइए पनि त्यसपछि पुजारीहरूले आफैँ खर्च जुटाएर पूजा गर्दै आएका थिए।
विकास कोषपछि व्यवस्थित पूजा
२०७० सालमा खाँडादेवी विकास कोष स्थापना भएपछि महानवमी र चैते दशैँमा सरकारी पूजाको व्यवस्था गरिएको छ। मन्दिरको व्यवस्थापन, नियमित पूजा–आराधना र संरक्षणका काम विकास कोषले गर्दै आएको छ।
आस्था, इतिहास र संस्कृतिको संगम बनेको खाँडादेवी आज पनि हजारौँ भक्तजनका लागि भरोसाको केन्द्र बनेर उभिएको छ—जहाँ आतपमा पुकारिन्छ, कामना पूरा भएपछि शिर निहुर्याइन्छ।












प्रतिक्रिया दिनुहोस्