रामेछाप, पुस २५ । निर्माणाधीन पकरबास–गोगनपानी–गाल्पा सडकको पिचको गुणस्तरबारे प्रश्न उठेपछि वाग्मती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले स्थलगत अनुगमन गर्नुभएको छ ।
पकरबास–गोगनपानी खण्डमा गरिएको पिच केही स्थानमा उक्किएको भन्दै स्थानीय बासिन्दा तथा स्थानीय जनप्रतिनिधिहरूले गुनासो गरेपछि सभापति श्रेष्ठ अनुगमनका लागि गोगनपानी पुग्नुभएको हो । अनुगमनका क्रममा केही ठाउँमा पिच उक्किएको भेटिएपछि उहाँले निर्माण व्यवसायी र प्राविधिकको ध्यानाकर्षण गराउनुभएको थियो ।
अनुगमनका क्रममा प्राविधिक र निर्माण व्यवसायीले चिसो मौसमका कारण केही स्थानमा पिच राम्रोसँग नसमातेको जानकारी दिँदै काम जारी रहेकाले त्यस्ता ठाउँमा पुनः पिच गरिने बताउनुभयो । सभापति श्रेष्ठले सडक निर्माणको काममा गुणस्तरमा कुनै पनि लापरबाही हुन नहुने स्पष्ट गर्दै निर्माण व्यवसायी र प्राविधिकलाई आवश्यक निर्देशन दिनुभयो ।

कूल १० किलोमिटर लामो सो सडकअन्तर्गत सिकारीडाँडादेखि घ्याङसिङडाँडासम्मको खण्डमा कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ । घ्याङसिङडाँडादेखि गाल्पासम्मको खण्डमा भने संरचना निर्माणको काम भइरहेको छ ।
सडक निर्माणको जिम्मा पाएको आर्याल कन्स्ट्रक्सनका प्रमुख श्याम अर्यालका अनुसार हालसम्म करिब ४० प्रतिशत पिचको काम सम्पन्न भएको छ भने अन्य संरचनासम्बन्धी काम ६० प्रतिशतभन्दा बढी सकिएको छ । निर्माण कार्य केही ढिलो भए पनि बाँकी सबै काम सम्पन्न गरेरै छोड्ने उहाँले बताउनुभयो । कामको गुणस्तरमा कुनै सम्झौता नगरेको दाबी पनि उहाँले गर्नुभएको छ ।
जिल्ला पूर्वाधार विकास कार्यालय रामेछापका सब–इञ्जिनियर महेन्द्र साहका अनुसार सिकारीडाँडादेखि गाउँपालिका कार्यालयसम्म ४ हजार २०० मिटर सडक पिच भइसकेको छ । दोस्रो चरणमा गाउँपालिका कार्यालयबाट ४ किलोमिटर सडक पिच गरिने र त्यसपछि बाँकी २ किलोमिटर सडक कालोपत्रे गरिने उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
दिवाकर ओमबुद्ध/आर्याल कन्स्ट्रक्सनले ४३ करोड रुपैयाँको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७८ सालमा सो सडक निर्माणको ठेक्का सम्झौता गरेको थियो । पटक–पटक म्याद थप गर्दा पनि लामो समय सडक निर्माणले गति लिन नसकेकामा पछिल्लो समय पिचको काम अघि बढेपछि स्थानीयवासीमा भने अब काम सम्पन्न हुने आशा पलाएको छ ।













प्रतिक्रिया दिनुहोस्