काठमाडौं, पुस २५ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणलाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाभित्र तीव्र विवाद उत्पन्न भएको छ । मन्त्री गुप्ताको भ्रमणबारे एनआरएनए अमेरिकाका दुई फरक–फरक गुटले परस्पर विरोधी विज्ञप्ति जारी गरेपछि विषय थप पेचिलो बनेको हो ।
एनआरएनए अमेरिकाको एक पक्षले मन्त्री गुप्तालाई अमेरिका भ्रमणका लागि कुनै पनि कार्यक्रममार्फत आमन्त्रण नगरिएको स्पष्ट पारेको छ भने अर्को पक्षले भने औपचारिक कार्यक्रमका लागि उहाँलाई बोलाइएको दाबी गरेको छ । दुई पक्षबाट सार्वजनिक भएका छुट्टाछुट्टै विज्ञप्तिले संस्थाभित्रको गम्भीर आन्तरिक विवादलाई उजागर गरेको छ ।
गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए एसीसी युएसए)ले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरिएको स्पष्ट गरेको छ । उक्त विज्ञप्तिमा एनआरएनए प्रवक्ता भन्दै सन्देश उप्रेतीले हस्ताक्षर गर्नुभएको छ ।
विज्ञप्तिमा संस्थाका नाममा अनैतिक, झुटा तथा अनधिकृत गतिविधि भइरहेको उल्लेख गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘संस्थाको अनुमति र निर्णयविना केही व्यक्तिहरूले एनआरएनए अमेरिकाको नाम प्रयोग गरी कार्यक्रम सञ्चालन गर्ने, इआईएन नम्बर र वेबसाइटको दुरुपयोग गर्ने तथा मानव तस्करीजस्ता गैरकानूनी गतिविधिसमेत गरिरहेको पाइएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
संस्थासँग कुनै सम्बन्ध नरहेका गतिविधिहरूलाई एनआरएनएसँग जोडेर प्रचार गरिएकोप्रति आपत्ति जनाउँदै यसले भविष्यमा यस्ता गतिविधिले कानुनी जटिलता निम्त्याउने चेतावनी पनि दिएको छ । विज्ञप्तिमा ‘अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम एनआरएनए एसीसी युएसएको तर्फबाट आयोजना नगरिएको’ स्पष्ट गरिएको छ । आधिकारिक स्वीकृति बिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण, रकम संकलन वा अन्य गतिविधि पूर्ण रूपमा अवैध र अमान्य ठहरिने पनि संस्थाले जनाएको छ ।
यता, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका प्रवक्ता द्रोण गौतमले अर्काे विज्ञप्ति जारी गर्दै मन्त्री गुप्ताको अमेरिका भ्रमणलाई लिएर सार्वजनिक रूपमा आएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ । उक्त विज्ञप्तिमा उहाँलाई औपचारिक अन्तरक्रिया कार्यक्रममा बोलाइएको दाबी गरिएको छ ।
प्रवक्ता गौतमका अनुसार युवा तथा खेलकुद मन्त्री केवल सरकारका एक सदस्य मात्र नभई विदेशमा बसोबास गर्ने नेपाली युवासहित सम्पूर्ण नेपाली समुदायका साझा मन्त्री भएकाले एनआरएनएले नेपाली डायस्पोराको प्रतिनिधि संस्थाको हैसियतमा उहाँलाई आमन्त्रण गरेको हो । ‘जेन–जी आन्दोलनपश्चात् उत्पन्न राष्ट्रिय परिस्थिति, सम्भावना र नेपालको विकासमा प्रवासी नेपाली युवाको भूमिकाबारे छलफल गर्न “रोल अफ एनआरएनए युथ इन द डेभलप्मेन्ट अफ नेपाल पोस्ट जेन–जी रिभोलुसन” विषयक अन्तरक्रियामा उहाँलाई बोलाइएको हो’, विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्धित राजनीतिक घटनाक्रमका कारण प्रधानमन्त्रीलाई राजीनामा दिन दबाब बढिरहेका बेला मन्त्री गुप्ताले भने एक पटक अमेरिका भ्रमण पूरा गरेर फर्किएपछि मात्र मन्त्री पदबाट हटाउन आग्रह गर्दै आउनुभएको बताइन्छ । तर एनआरएनए अमेरिकाभित्र देखिएको आन्तरिक विवाद र परस्पर विरोधी दाबीका कारण उहाँको अमेरिका भ्रमण नै विवादको घेरामा परेको छ ।













प्रतिक्रिया दिनुहोस्