रामेछाप, पुस २९। जिल्ला प्रशासन कार्यालय रामेछापले आफ्नो कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउन गाउँगाउँमा सचेतनामूलक कार्यक्रम तथा सार्वजनिक सुनुवाइ सुरु गरेको छ।
नागरिकलाई सेवा लिन सहज बनाउने, सेवा सिफारिस गर्ने कार्यालयलाई समेत प्रक्रियामा सहजीकरण गर्ने र नागरिकका गुनासो प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सोही क्रममा गोकुलगंगा गाउँपालिकाको व्यवस्थापनमा गाउँपालिकाको रस्नालुमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोकुलगंगा गाउँपालिका अध्यक्ष काजिबहादुर खड्का दिनेश प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्काले कार्यालयका प्रमुख व्यक्तिको भूमिकाले नागरिकले पाउने सेवा सहज वा असहज हुने बताउनुभयो। प्रमुख जिल्ला अधिकारीबाट प्राप्त सहजीकरणका कारण सेवा प्रवाहमा सहजता आएको उहाँको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी थापाले जिल्ला प्रशासन कार्यालयले सकेसम्म र हुनेसम्म नागरिकका समस्या समाधान गर्ने प्रयास गर्दै आएको बताउनुभयो। कानुनको आधारमा काम गर्नुपर्ने बाध्यता औंल्याउँदै उहाँले सबै विषय कानुनका अक्षरमै मात्र नअट्ने भएकाले कतिपय अवस्थामा विवेक प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक भोला भट्टले शान्ति सुरक्षा र अपराध नियन्त्रणका विषयमा जानकारी दिनुभएको थियो। उहाँले लागुऔषध प्रयोगको अवस्था र त्यसको न्यूनिकरणका लागि गरिँदै आएका प्रयासबारे समेत प्रकाश पार्नुभयो।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्मण भुजेलले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवाहरू तथा ती सेवा लिन आवश्यक कागजातबारे सहभागीलाई जानकारी गराउनुभएको थियो।













प्रतिक्रिया दिनुहोस्