जनता टाइम्स

२९ पुष २०८२, मंगलवार २२:२१

उद्योग, पर्यटन र युवा उद्यमको विकास बिना समृद्धि सम्भव छैन : मन्त्री बिन्दु श्रेष्ठ


रामेछाप, पुस २९ । वाग्मती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासन मन्त्री बिन्दु श्रेष्ठले उद्योग, पर्यटन तथा युवा उद्यमको विकास नगरी मुलुकको समृद्धि सम्भव नहुने स्पष्ट गर्नुभएको छ।

मंगलबार मन्थली नगरपालिकामा आयोजित छलफल कार्यक्रममा मन्तव्य राख्दै मन्त्री श्रेष्ठले प्रदेश सरकार र स्थानीय तहबीच आवश्यक सहकार्य हुन नसक्दा गर्न सकिने धेरै काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताउनुभयो। सहकार्यको अभावले मन्त्रालयबाट सञ्चालन हुने कतिपय कार्यक्रम अपेक्षित परिणाम दिन नसकेको उहाँको भनाइ थियो।

मन्त्री श्रेष्ठले बजारको माग र आवश्यकताको आधारमा कार्यक्रम छनोट हुनुपर्नेमा जोड दिनुभयो। व्यक्तिगत सोच वा योजनाका आधारमा कार्यक्रम ल्याउँदा त्यसको प्रभावकारिता कमजोर हुने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो।

सिमान्तकृत समुदायलाई उद्यमसँग जोड्ने उद्देश्यले मन्त्रालयले केही महत्वाकांक्षी कार्यक्रमहरू अघि सारेको जानकारी दिँदै मन्त्री श्रेष्ठले ती कार्यक्रम सफल बनाउन सबै सरोकारवालाको सहयोग अपरिहार्य रहेको बताउनुभयो। प्रदेश सरकार, स्थानीय तह र उद्यमीबीचको सहकार्यमा सञ्चालन हुने कार्यक्रमहरू दीर्घकालीन रूपमा प्रभावकारी हुन सक्ने उहाँको धारणा थियो।

छलफल कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले मन्त्रालयमार्फत केही तालिम र अनुदानका कार्यक्रम सञ्चालन भए पनि ती पर्याप्त नभएको बताउनुभयो। अन्य जिल्लाको तुलनामा रामेछापमा केही काम भए तापनि त्यसले मात्र आवश्यकता पूरा गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो।

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले कम्तीमा एउटा भए पनि देखिने र उदाहरणीय उद्यम सञ्चालन गर्न सकिए मात्र विकासको अनुभूति हुने बताउनुभयो। नगर क्षेत्रमा केही कृषि उद्यमीहरू देखिन थाले पनि उनीहरूको उत्पादनलाई व्यवस्थित रूपमा उद्यमसँग जोड्न नसकिएको उहाँको भनाइ थियो। यस्ता उद्यममा मन्थली नगरपालिका ५० प्रतिशतसम्म लगानी गर्न तयार रहेको उहाँले जानकारी दिनुभयो।

नेपाल उद्याेग व्यवसायी महास‌ंघ रामेछापका अध्यक्ष सुरेश उदासले रामेछापमा ठूला मालबाहक सवारीसाधन सिन्धुली हुँदै सहज रूपमा प्रवेश गर्न नपाउँदा उद्यम व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गर्नुभयो। ठूला मालबाहक गाडी सिधै रामेछापसम्म आउन नपाउँदा ढुवानी खर्च बढ्ने र त्यसको असर उत्पादन तथा उपभोग्य वस्तुको मूल्यमा पर्ने गरेको उहाँले बताउनुभयो। त्यसका लागि सहज यातायात व्यवस्था मिलाइदिन उहाँले आग्रह गर्नुभयो।

मन्त्री श्रेष्ठले वाग्मती प्रदेश सरकारको सहयोगमा सञ्चालनमा रहेका विभिन्न उद्योगहरूको स्थलगत अनुगमन गर्दै आवश्यक सुझावसमेत दिनुभएको थियो।