जनता टाइम्स

१ माघ २०८२, बिहीबार १६:००

खाँडादेवी मन्दिर धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै


रामेछाप, माघ १ । रामेछाप जिल्लाको ऐतिहासिक तथा धार्मिक शक्तिपीठ खाँडादेवी मन्दिर धार्मिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । राजधानी काठमाडौंदेखि तराईसम्मका मानिसहरुकाे लागि धार्मिक स्थलको दर्शनसँगै प्राकृतिक सौन्दर्य अवलोकन गर्न खाँडादेवी आकर्षक थलो बनेको छ ।

काठमाडौंबाट करिब ३ देखि ४ घण्टा र तराईको बर्दिबासबाट करिब ३ घण्टामा सहजै पुग्न सकिने खाँडादेवी एकैदिनमा दर्शन गरी प्राकृतिक आनन्द लिएर फर्कन चाहनेका लागि कम खर्चमा घुम्न सकिने गन्तव्यका रूपमा परिचित छ । काठमाडौं र बर्दिबासबाट बीपी राजमार्ग हुँदै सिन्धुलीको सुनकोसीस्थित सित्खापुल तरेर वा रामेछापको सदरमुकाम मन्थली हुँदै पकरबास पार गरेर खाँडादेवी पुग्न सकिन्छ ।

खाँडादेवी मन्दिरबाट शैलुङ क्षेत्र, गौरीशंकरलगायत हिमशृङ्खला, हरियाली डाँडाकाँडा तथा सुनकोसी र तामाकोशी नदीको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यले यस स्थानलाई थप आकर्षक बनाएको छ ।

खाँडादेवीलाई पौराणिक तथा आस्थाको केन्द्र मानिन्छ । यहाँ किराँतकालदेखि नै पूजा हुँदै आएको अनुमान गरिन्छ । मन्दिरमा विसं १५७३ मा चढाइएको घण्टी तथा त्यसअघि अर्पण गरिएका चाँदीका जन्तरलगायत बहुमूल्य गहना हालसम्म सुरक्षित रहेकाले यस स्थानको पुरातात्विक महत्त्व पुष्टि हुन्छ ।

ऐतिहासिक कथनअनुसार सिन्धुली गढीको युद्धमा जाँदा राजा पृथ्वीनारायण शाहले खाँडादेवीसँग विजयको कामना गर्दै बल मागेका थिए । युद्धमा विजय प्राप्त गरेपछि खाँडादेवीको शिला दरबार लैजान खोज्दा पटक–पटक बिच बाटोबाट हराएर पुनः खाँडादेवीमै फर्किएको जनविश्वास छ । त्यसपछि दरबारकै तर्फबाट खाँडादेवीमा बलि चढाउने प्रचलन सुरु भएको भनाइ छ ।

परम्पराअनुसार खाँडादेवी मन्दिर परिसरमा रहेका देवताहरूलाई विशेष बलि दिने चलन रहँदै आएको छ । गणेशलाई हाँस र, मङ्गलादेवीलाई कुखुरा, भैरवीलाई राँगो, कमलामाईलाई परेवा र खाँडादेवीलाई बोका–पाठी बलि दिने परम्परा त्यस समयदेखि चल्दै आएको बताइन्छ ।

दरबारको तर्फबाट हुँदै आएको पूजा विसं २००९ सालपछि बन्द भएपछि पुजारीहरूले नै पूजाको व्यवस्था गर्दै आएका थिए । विसं २०७० मा खाँडादेवी विकास कोष स्थापना भएपछि नियमित पूजा, विशेष अनुष्ठान तथा मन्दिर संरक्षणका कार्यहरू विकास कोषमार्फत सञ्चालन हुँदै आएका छन् ।