रामेछाप, माघ ३ । साहित्यकार पवन आलोक र मिना चौलागाईँ जगदीश घिमिरे स्मृति पुरस्कारबाट सम्मानित हुनुभएको छ । यस वर्षको पुरस्कार आलोकलाई प्रदान गरिएको हो भने गत वर्षका लागि तय गरिएको पुरस्कार चौलागाईँलाई प्रदान गरिएको हो ।
शनिबार मन्थलीमा सम्पन्न ११औँ जगदीश घिमिरे स्मृति साहित्यिक सभा, वक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार वितरण समारोहमा दुवै स्रष्टालाई जनही ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । अघिल्लो वर्ष पुरस्कार घोषणा हुन नसकेकाले यस वर्ष दुई वर्षका पुरस्कार एकै समारोहमार्फत वितरण गरिएको जगदीश घिमिरे प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले हरेक वर्ष साहित्य तथा पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टालाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि मनु ब्राजाकी, रोचक घिमिरेलगायतका साहित्यकारले यो सम्मान प्राप्त गरिसक्नु भएको छ । प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार र विद्यार्थीहरूबिच वक्तृत्वकला प्रतियोगिता पनि सञ्चालन गरिएको थियो ।
नयाँ पुस्तालाई साहित्य, विचार र अभिव्यक्ति कलातर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा रामेछापसहित विभिन्न जिल्लाबाट आएका साहित्यकारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
वि.सं. २००२ चैत २८ गते रामेछापको मन्थलीमा जन्मिएका जगदीश घिमिरेको २०७० कात्तिक १४ गते ६८ वर्षको उमेरमा काठमाडौँस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उहाँका विभिन्न साहित्यकृतिहरु प्रकाशित छन् ।
घिमिरेको चर्चित कृति अन्तर्मनको यात्रा ले वि.सं. २०६४ सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्