जनता टाइम्स

९ माघ २०८२, शुक्रबार २०:४१

देश बनाउने छान्ने कि जलाउने ?


झापा–५ का मतदाताले यस चुनावमा देश बचाउने केपी ओली र नेकपा एमाले छान्ने कि काठमाडौंका मतदातालाई बीचैमा धोखा दिएर भागेका देश जलाउने बालेनलाई छान्ने भन्ने निर्णय गर्नुपर्छ । केपी ओलीसँग रिस उठेकाहरूले पनि कहिल्यै भेट नहुने र केही नगर्नेलाई छान्ने कि सधैँभरी भेटिरहने, समस्या समाधान दिनेलाई छान्ने भन्ने निर्णय मतदान अघि गर्नुपर्नेछ । झापाको अहिलेसम्मको इतिहास हेर्दा देश बनाउने नायक नै रोजेको इतिहास छ । यसपटक पनि देश जलाउने खलनायकलाई तिरस्कार गरेर देश बनाउने नायक रोज्ने कुरा नै सही हुनेछ भन्ने तथ्य बुझाउन सबै एकजुट बन्न जरुरी छ ।

गणेश बस्नेत

यतिबेला मुलुक चुनावमय बनेको छ । सबै राजनीतिक दलहरू निर्वाचन आयोगको कर्यातालिका अनुसार निर्वाचनमा होमिएका छन् । मुलुकका १६५ वटै निर्वाचन क्षेत्रमा यतिबेला मतदाताबीच उम्मेदवार पुग्ने क्रम बिस्तारै बाक्लिँदै गएको छ । प्रमुख चार दल नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र रास्वपामध्ये तीन दल संस्थागत निर्णयका साथ भावी प्रधानमन्त्री घोषणा गरेरै चुनावी मैदानमा उत्रिएका छन् । नेकपाले पुष्पकमल दाहाल, प्रचण्ड कि माधव नेपाल वा अरू कुनै ? भन्ने विवादले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छैन । चुरो कुराचाहिँ भावी प्रधानमन्त्री घोषणा गर्दा चुनाव नै हारिन्छ भन्ने त्रास प्रचण्ड–माधवमा रहेको देखिन्छ ।

एमालेले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसले सभापति गगन थापा र रास्वपाले काठमाडौं महानगरपालिकाबाट बिचैमा छाडेर हिँड्नुभएका मेयर बालेन साहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । एमाले र कांग्रेसले पार्टीको प्रमुख नेतालाई घोषणा गर्दा रास्वपाले सभापति रवि लामिछानेको विकल्पमा बालेनलाई अघि सारेको छ । यद्यपि यो रविको रणनीतिक चालबाजी हो भन्ने प्रश्न सवैतिर उठिरहेको छ । जेहोस् तीन दल भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिएका छन् ।

आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन हुन्छ कि हुँदैन भन्ने बहसबिच अन्यौलता चिर्दै अव चुनाव भएरै छाडने बिन्दुमा पुगेको छ । माघ ६ गते उम्मेदवारी मनोनयन भई दाबी विरोधको क्रमसमेत सकिएर अव अन्तिम नामावली प्रकाशित भइसकेको अवस्था छ । यसबीचमा मुलुकमा चुनाव नहुने हो कि भन्ने सबै आशङ्का चिरिँदै गएको छ । मनोनयन र त्यसपछिका दिनमा मुलुकभर शान्तिपूर्ण वातावरण रहेको छ । यो अवस्थाले पनि चुनाव हुन्छ भन्ने मानसिकताको विकास भएको छ । मतदाता पनि अव त चुनाव हुन्छ भन्न थालेका छन् । उम्मेदवारहरू त मैदानमै मत माग्न खटिसकेका छन् ।

चुनाव हुन्न कि भन्ने संशय टर्‍यो । संसद् पुनर्स्थापना हुन्छ कि हुन्न भन्ने बहस कायमै छ । संविधानअनुसार सर्वोच्च अदालतले फैसला गर्दा पुनःस्थापनाबाहेक अर्को विकल्प छैन । यही भएर अदालत फागुन २१ पछि धकेल्ने र ‘सम्माननीय राष्ट्रपतिले तोकेको मितिमा निर्वाचन भइसकेको कारण थप केही बोलिरहनु परेन’ भन्ने फैसला सुनाउने योजनामा रहेको घटनाक्रमहरूले देखाइरहेको छ । अदालत र श्रीमानहरूको यही व्यवहार बुझेका कारण पनि होला चुनावको वातावरण छैन भन्ने दल र नेताहरू पनि अव चुनावतिरै अर्जुनदृष्टि लगाइरहेका छन् । लोकतन्त्रमा निर्वाचन नै साँचो अर्थमा समाधान हो । विगतमा प्रधानमन्त्रीले संसद् विघटन गर्दा ‘प्रतिगमन’ भयो भनेर सर्वोच्च अगाडि पलेटी कसेका दल र नेताहरूले यो सच्चाइ बुझेर नै यसपटक संविधान विपरीत विघटन भए पनि स्वीकार गरेर अघि बढेको पाइन्छ ।

सुरुमा निकै चर्को आवाजमा विरोध गरेको एमाले र नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षधर (तत्कालीन समयमा संस्थापन, हाल समूहमा परिणत भएको) पनि चुनावतिरै लागेको छ । निर्वाचनको वातावरण बनाउने र तोकिएको समयमा जनतालाई आफ्नो मत दिन अव दलहरूले आफ्नो एजेण्डा बुझाउनु पर्ने अवस्था छ । यद्यपि अहिलेसम्म नेकपा एमालेबाहेक कुनै पनि दलले स्पष्ट एजेण्डा राख्नै सकेका छैनन् । एमालेले फागुन २१ को निर्वाचनलाई ‘देश बनाउने कि देश जलाउनेलाई रोज्ने’ भन्ने मुख्य एजेण्डा बनाएको छ । हुन पनि भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’को विध्वंसकारी घटनाका पक्षधर र जेनजीको मागमा समर्थन गर्दै त्यसको विपक्षमा उभिएको बीचमा जनताले को सही भन्ने फैसला गर्ने बेला आएको छ ।

आफ्नै सभापति निर्मम आक्रमणको सिकार बनेको नेपाली कांग्रेस पनि यतिबेला भदौ २४ को विध्वंसलाई क्रान्ति भन्ने बुझाइमा छ । विशेष महाधिवेशनबाट नेतृत्वमा आउनु भएका तत्कालीन महामन्त्री गगन थापा त्यो विध्वंस होइन, क्रान्ति हो भन्नेमा हुनुहुन्छ । कांग्रेसमा सभापतिको निष्कर्षलाई देशभरका सबै कार्यकर्ता र सिङ्गो केन्द्रीय समिति विरुद्धमा भए पनि काट्न नसक्ने परम्परागत लोकतान्त्रिक अभ्यास छ । राजतन्त्र अन्त्यको बेला गिरिजाप्रसाद कोइरालाले एकल निर्णय लिएजस्तै गगन थापाले पनि भदौ २४ को विध्वंसकारी घटना क्रान्तिकै रूप हो भन्ने निर्णय सार्वजनिक नै गरिसक्नु भएको छ ।

त्यो विध्वंस क्रान्ति होइन, आततायी काम हो भन्ने निष्कर्षमा रहेको तत्कालीन संस्थापन पक्ष अर्थात् देउवा समूह निरीह बनेको छ । त्यो समूह पनि क्रान्तिको बेला प्रतिक्रान्तिकारी भएकाले आक्रमणको निसानामा परियो भन्ने अवस्थातिर धकेलिएको छ । भदौ २३ र २४ को विध्वंसकारी घटनाको विषय र मुद्दामा नेकपा एमाले र केपी ओली मात्रै अहिलेसम्म स्पष्ट देखिएका छन् । जेनजी आन्दोलन अपहरण गरेर विदेशी मतियारहरूले देश बरबाद बनाउने योजनालाई मूर्त रूप दिएको र संविधान फाल्ने अन्तिम प्रयास स्वरूप त्यो विध्वंसकारी काम भएको निष्कर्ष एमालेको छ । यो मुद्दामा एमालेबाहेकका दल अहिलेसम्म प्रष्ट हुन सकेकै छैनन् ।

तथ्यले भन्छ, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन क्रान्ति होइन, प्रतिक्रान्ति हो । आततायी गतिविधि हो । जेनजीको सुन्दर सपना तुहाइएको भयङ्कर चक्रब्यूँह हो, जस्ता ७८ जना निर्दोष नेपालीले ज्यान गुमाउनु पर्‍यो । माथिल्लो निकायलाई जानकारी नै नदिएर गोली हान्न आदेश दिने कमाण्डर र सरकारमा पुगेकाहरू सबै जेल तोडेर अपराधी भगाउने दलका उम्मेदवार बनेपछि तथ्यले नै प्रतिक्रान्ति भन्ने स्थापित गरेको छ ।

आन्दोलनताकाका प्रहरी कमाण्डरलाई बढुवा गरेर जेनजी सरकारले पनि गोली चलाउने र गोली खान घेरा हालेर चक्रव्यूहमा पार्ने एकै समूह हुन भन्ने सत्य उद्घाटित गरेको छ । सञ्चार मन्त्री जगदीश खरेल, खेलकुद मन्त्री बल्लु गुप्ता जेलबाट अपराधी भगाउने दल रास्वपाबाट उम्मेदवार बन्नु, ऊर्जा मन्त्री कुलमान घिसिङ आफै पार्टी खोलेर चुनावमा होमिनु र शिक्षामन्त्री स्वतन्त्र बनेर चुनावी मैदानमा उत्रिएका घटनाले सरकार पनि नागरिक सरकार नभएर जेलबाट अपराधी भगाउने र देश जलाउनेहरूको स्याहार सुसारमा खटिएको अवस्थाभन्दा माथि देखिन सकेको छैन ।

एमालेले भदौ २४ को घटनालाई स्पष्ट धारणासहित देश जलाउनेलाई ठेगान लगाउन देश बचाउने ध्रुवको नेतृत्व गरिरहेको छ । देश बनाउने रोज्ने कि देश जलाउने रोज्ने ? भन्ने एमालेको मुद्दाकै कारण होला अध्यक्ष केपी ओलीकै निर्वाचन क्षेत्रमा देश जलाउने कामको नेतृत्व गरेको भनेर परिचित व्यक्तिलाई रास्वपाबाट उम्मेदवार बनाइएको छ । 

एमालेले भदौ २४ को घटनालाई स्पष्ट धारणासहित देश जलाउनेलाई ठेगान लगाउन देश बचाउने ध्रुवको नेतृत्व गरिरहेको छ । देश बनाउने रोज्ने कि देश जलाउने रोज्ने ? भन्ने एमालेको मुद्दाकै कारण होला अध्यक्ष केपी ओलीकै निर्वाचन क्षेत्रमा देश जलाउने कामको नेतृत्व गरेको भनेर परिचित व्यक्तिलाई रास्वपाबाट उम्मेदवार बनाइएको छ । काठमाडौं महानगरपालिकामा अहिलेसम्मकै उत्कृष्ट काम गरेको दावा गर्ने मेयर त्यो पालिकासँग साइनो सम्बन्ध नरहेको र निर्वाचन क्षेत्र पनि नचिनेको अनि कहिल्यै नटेकेको ठाउँमा उम्मेदवार बन्न अस्वीकार गरेका थिए तर निर्देशकले देश जलाउने छान्छन् भन्ने सूत्र पिलाएर सन्काहा मेयरलाई ओलीविरुद्ध उम्मेदवार बनाएका छन् ।

केपी ओलीको निर्वाचन क्षेत्रका रूपमा स्थापित झापा–५ मा बालेन जानु भनेकै एमालेलाई काउन्टर हो । देश बनाउने नायक विरुद्ध देश जलाउने खलनायक उभ्याउने सबैतिरको डिजाइन हो । चाहिए जति सबै चिज उपलब्ध गराउने बाचा गरेर बालेनलाई जवर्जस्त खडा गरिएको छ । प्रचण्ड, माधव नेपाल, गगन थापादेखि अरू कुनै पनि दलका नेता नरोजी किन केपी ओलीकै निर्वाचन क्षेत्र रोजियो भन्ने कुरा केही सातामै थप उजागर हुनेछ । बालेनकै टिमका सदस्यले भनिरहेका थिए, झापा ५ जानै हुन्न, जाँदै जान्नन् तर अन्तिममा नागरिकता पनि कताकता मिलाएर लिएको मालपानीबाट आठ करोडको गाडी ‘उपहार’ लिएर झापा हानिएका छन् । बालेनको यो निर्णयमा उनकै सहयोगी टिम बेखुस छ । जानाजान हार्ने क्षेत्रमा किन गएको भन्ने उनीहरूको भनाई छ । तर बालेन चाहिँ गइहालियो अव जिते हिरो, हारे पनि हिरो भन्दै आश्वस्त पार्न थालेका छन् ।

हुन पनि कथंकदाचित केपी ओलीलाई जितिहालियो भने भदौ २४ को विध्वंसकारी र आततायी काम क्रान्ति हो भन्ने स्थापित हुने, हारियो भने पनि केपी ओलीजस्तो व्यक्तिसँग भिडेर यत्तिको मत ल्याउनु नै जीत हो भनेर राजनीतिक बजारमा बिकाऊ माल हुने अवस्था छ । केपी ओलीविरुद्धको सबै मत आफूतिर हलाइ दिने डिजाइनरको बाचा छ । कांग्रेस, राप्रपा, नेकपा, मधेसी दल सबैतिरको मत केपी ओलीविरुद्ध हाल्न लगाउने डिजाइनअनुसार बालेन झापा ५ मा गएको तथ्य अव खुलिसकेको छ । तर त्यस निर्वाचन क्षेत्रमा बालेनको दलतिर लागेकाहरूले गरेको अपराध क्षमायोग्य नै छैन । सबै दलका स्थानीय नेता जो देशका पक्षमा उभिन्छन्, उनीहरूको घर जलाउनेहरू, दमकको स्वाभिमानको प्रतीक भ्यु टावर जलाउने सबै रास्वपाकै नेता कार्यकर्ता छन् । उनीहरूले हाल संस्थापनमा पुगेर क्रान्तिको दर्जा दिने गगन थापाको कांग्रेसतिरका नेताका घर पनि बाँकी राखेका छैनन् ।

त्यसकारण झापा–५ का मतदाताले यस चुनावमा देश बचाउने केपी ओली र नेकपा एमाले छान्ने कि काठमाडौंका मतदातालाई बीचैमा धोखा दिएर भागेका देश जलाउने बालेनलाई छान्ने भन्ने निर्णय गर्नुपर्छ । केपी ओलीसँग रिस उठेकाहरूले पनि कहिल्यै भेट नहुने र केही नगर्नेलाई छान्ने कि सधैँभरि भेटिरहने, समस्या समाधान दिनेलाई छान्ने भन्ने निर्णय मतदान अघि गर्नुपर्नेछ । झापाको अहिलेसम्मको इतिहास हेर्दा देश बनाउने नायक नै रोजेको इतिहास छ । यसपटक पनि देश जलाउने खलनायकलाई तिरस्कार गरेर देश बनाउने नायक रोज्ने कुरा नै सही हुनेछ भन्ने तथ्य बुझाउन सबै एकजुट बन्न जरुरी छ ।

किनकि झापा–५ मा आएका पात्र देखावटी मात्रै हुन, पर्दाभित्र अरू नै कोही बसेर नचाइरहेको छ । साना गल्तीले पनि पर्दाभित्रको त्यो चक्रव्यूहको रचयिताको सिकार झापा मात्र होइन सिङ्गो देश बन्न सक्छ, यसतर्फ सबै सचेत हुन जरुरी छ । जितुन् वा हारुन्, बालेन फेरि फर्केर झापा–५ जाँदैनन्, जित्दा पनि, हार्दा पनि केपी ओलीले झापा छाडदैनन् भन्ने सत्यलाई गहिरोसँग बुझौँ, बहुरुपिया बाहिरियालाई आफ्नो ठान्ने भूल झापाले कहिल्यै गरेन, अव पनि नगरौँ ।

(लेखक बस्नेत प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय अध्यक्ष हुनुहुन्छ–सं)