जनता टाइम्स

१९ माघ २०८२, सोमबार २२:११

एउटै काम घनचक्कर जस्तो घुमिरहने तर प्रगति नहुने अवस्थाको अब अन्त हुनुपर्छ : मुख्यमन्त्री हिक्मतकुमार कार्की


 विराटनगर, माघ १९ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास आयोजनाहरूको प्रगति न्यून रहेको भन्दै तत्काल कार्यान्वयन तीव्र बनाउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आयोजना गरेको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समिति बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले बजेट खर्च र कार्य प्रगति कमजोर भएकाले कार्यालयमै पुगेर ‘अन द स्पट’ छलफल गरी प्रगति बढाउन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले दुई–तीन वर्षदेखि निरन्तर बजेट विनियोजन हुने तर कार्यान्वयन नहुने आयोजना तत्काल हटाउन पनि निर्देशन दिनुभयो । ‘एउटै काम घनचक्कर जस्तो घुमिरहने तर प्रगति नहुने अवस्थाको अब अन्त हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

उहाँले मन्त्रालयभित्रका कमीकमजोरी चाँडो हटाएर कामलाई द्रुत गतिमा अघि बढाउन आग्रह गर्दै कर्मचारी, राजनीतिज्ञ र स्थानीय तहले समस्या सही ढङ्गले बुझ्न नसक्दा पनि विकासमा अवरोध सिर्जना भएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशलाई केन्द्र सरकारले अपेक्षित सहयोग नगरेको गुनासो पनि गर्नुभयो । ‘प्रदेशमा पटक–पटक छलफल हुन्छ, केन्द्रमा पनि छलफल हुन्छ भनेर भनिन्छ तर काम हुँदैन, यसले काम गर्न गाह्रो भइरहेको छ,’ उहाँले भन्नुभयो ।

उहाँले यातायातको अधिकार प्रदेशमा भए पनि यहाँबाट उठेको जरिमाना केन्द्र सरकारले लैजाने गरेको उल्लेख गर्दै २०७५ सालदेखि उठाउँदै आएको विषय केन्द्रले नसुनेको बताउनुभयो ।त्यस्तै, लाइसेन्स छपाइको अधिकार प्रदेशमा भए पनि केन्द्रले सहज रूपमा हस्तान्तरण नगरेको कारण समस्या भइरहेको उहाँको भनाइ छ ।

बैठकमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले ऐन–कानुन संशोधन, पुनर्निर्माण तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।