जनता टाइम्स

२३ माघ २०८२, शुक्रबार ११:२०

टेकानपुर र कठजोरमा खानेपानीको दीर्घकालीन समाधान : लिफ्ट प्रणालीमार्फत सुक्खाग्रस्त बस्तीमा पानी पुर्‍याइँदै


रामेछाप, माघ २३ । रामेछापको मन्थली नगरपालिका–२ टेकानपुर र ३ कठजोरका सुक्खाग्रस्त बस्तीका बासिन्दाले अब दीर्घकालीन खानेपानी समस्याबाट मुक्ति पाउने आशा व्यक्त गर्नुभएको छ। तामाकोसी नदीको पानी लिफ्ट प्रणालीमार्फत गाउँको सिरानसम्म पुर्‍याइ वितरण गर्ने बान्द्रे–कठजोर बृहत् पम्पिङ सामुदायिक खानेपानी आयोजना सुरु भएसँगै स्थानीयमा उत्साह थपिएको छ।

वर्षौंदेखि पानीको अभावका कारण कष्टकर जीवन बिताउँदै आउनुभएका यी क्षेत्रका बासिन्दाले आयोजना सम्पन्न भएपछि नियमित तथा सुरक्षित खानेपानी सुविधा पाउने अपेक्षा गर्नुभएको छ। तामाकोसी नदी किनारको बान्द्रेबाट पानी तानेर कठजोर डाँडासम्म पुर्‍याइ वितरण गरिने उक्त आयोजनाबाट मन्थली नगरपालिका–२ र ३ का ७ सय ५० भन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुने मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिनुभयो।

उहाँका अनुसार आयोजनाका लागि कूल १४ करोड रुपैयाँको टेण्डर आह्वान गरिएकोमा कुवर डेभलपर्स एण्ड बिल्डर्स प्रालिले १० करोड रुपैयाँमा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको हो। गत असार महिनामा सम्झौता भएको उक्त आयोजना दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ।

आयोजना अन्तर्गत विभिन्न लिफ्ट प्रणालीमार्फत जम्मा सातवटा पानी ट्याङ्की निर्माण गरिनेछ। तीमध्ये पाँचवटा ट्याङ्कीको निर्माण कार्य अन्तिम चरणमा पुगेको वडाध्यक्ष कार्कीले बताउनुभयो। निर्धारित समयसीमाभन्दा अगावै आयोजना सम्पन्न गर्ने लक्ष्यसहित काम तीव्र गतिमा अघि बढिरहेको उहाँको भनाइ छ।

स्थानीयका अनुसार खानेपानीको चरम अभावकै कारण टेकानपुर र कठजोरका धेरै बासिन्दा गाउँ छाडेर मन्थली बजार तथा कठजोर खोलाको किनारतर्फ बसाइँ सर्न बाध्य हुनुभएको थियो। गाउँमै पानी पुगेपछि विस्थापित परिवार पुनः गाउँ फर्किनुहुने र बस्तीमा चहलपहल बढ्ने विश्वास व्यक्त गरिएको छ।

लामो समयदेखि प्रतिक्षामा रहेको बान्द्रे–कठजोर बृहत् पम्पिङ खानेपानी आयोजना सम्पन्न भएपछि यी बस्तीमा बसोबास, कृषि उत्पादन र समग्र जीवनस्तरमा सकारात्मक परिवर्तन आउने स्थानीयवासीको अपेक्षा छ।