रामेछाप, फागुन २। रामेछापबाट ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडक निर्माण कार्य वर्षौंदेखि सुस्त हुँदा विकासको अपेक्षा गरेका स्थानीय अहिले उल्टै जोखिम र सास्ती भोग्न बाध्य भएका छन्।
सडक स्तरोन्नतिको नाममा पुरानो संरचना भत्काएर छाडिएपछि बस्तीमाथि ढुङ्गा–माटो थुप्रिएको छ भने सवारी आवतजावत कष्टकर बनेको छ। विशेषगरी मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप नगरपालिकाको रामेछाप बजार हुँदै ओखलढुङ्गाको लिखु किनारस्थित साँघुटार बजारसम्मको करिब ५२ किलोमिटर सडक खण्डमा निर्माण ढिलाइको मार स्थानीयले प्रत्यक्ष रूपमा खेपिरहेका छन्।
स्थानीय पूर्णबहादुर महतका अनुसार सडकबाट जथाभावी फालिएको ढुङ्गा–माटोले तलका बस्तीहरू जोखिममा परेका छन्। ‘सडकले फालेको माटो र ढुङ्गाले घरहरू असुरक्षित भएका छन्,’ उहाँले बताउनुभयो, सडकमा उड्ने अत्यधिक धुलोका कारण घरभित्र बस्नसमेत नसकिने अवस्था रहेको छ’, उहाँले भन्नुभयाे।
साँघुटार थाक्लेकी मनमाया श्रेष्ठका अनुसार खनेर अलपत्र छाडिएको सडकका कारण घर चर्किन थालेको छ। ‘कतिखेर पहिरो झरेर घर बगाउने हो भन्ने डर छ,’ उहाँले चिन्ता व्यक्त गर्नुभयो, ‘विकास भनेर सुरु गरिएको कामले हामीलाई झन् असुरक्षित बनाएको छ।’
हिउँदमा अत्यधिक धुलो र वर्षामा हिलो तथा पहिरोको जोखिमका कारण सवारी सञ्चालन असहज बनेको छ। रामेछाप र ओखलढुङ्गा हुँदै काठमाडौं आवतजावत गर्ने यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। स्थानीय व्यापारीहरूका अनुसार ढुवानी खर्च बढ्दा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत प्रभावित हुन थालेको छ।
भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण भइरहेको उक्त सडक आयोजनाको ठेक्का टेलिकम्युनिकेसन कन्सल्टेन्ट्स इण्डिया लिमिटेड (टीसीआईएल) ले पाएको हो। कम्पनीले नेपाली निर्माण व्यवसायीमार्फत काम गराउँदै आएको बताइएको छ। सन् २०२० नोभेम्बर ११ मा सुरु भएको आयोजना सन् २०२३ मे १० भित्र १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँ लागतमा सम्पन्न गर्ने सम्झौता गरिएको थियो। निर्धारित समयमा काम सम्पन्न नभएपछि १७ महिनाको म्याद थप गरिएको थियो। तर थपिएको समयसमेत सकिँदा पनि निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन।
सडक निर्माण ढिलाइका कारण स्थानीय बस्तीमा भू–क्षय र पहिरोको जोखिम बढेको भन्दै तत्काल व्यवस्थापन गर्न माग उठेको छ। सडक खण्डमा पानी निकास, ढलान तथा कटान व्यवस्थापन नगरी छाडिँदा वर्षायाममा थप क्षति हुन सक्ने प्राविधिकहरू बताउँछन्।
स्थानीयवासीहरूले सम्बन्धित निकायसँग ठेक्का प्रक्रिया, म्याद थप र कामको प्रगति सार्वजनिक गर्न माग गरेका छन्। साथै बस्ती सुरक्षित राख्न तत्काल रोकथाम तथा संरक्षणका उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
विकासको पूर्वाधार मानिने सडक नै स्थानीयका लागि जोखिमको कारण बन्नु दुःखद भएको भन्दै प्रभावित बासिन्दाहरूले समयमै निर्माण सम्पन्न गर्न र गुणस्तरीय काम सुनिश्चित गर्न जोड दिएका छन्। अहिलेका लागि भने सेलेघाट–रामेछाप–साँघुटार सडक विकासको प्रतीकभन्दा पनि अधुरो योजना र अव्यवस्थाको उदाहरण बनेको छ।













प्रतिक्रिया दिनुहोस्