जनता टाइम्स

५ फाल्गुन २०८२, मंगलवार १७:३६

तामाकोसी बस दुर्घटना: आज एक युवकको शव भेटियो, मृतकको सङ्ख्या १४ पुग्यो


रामेछाप, फागुन ५  । रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणी नजिकै भिरबाट तामाकोसी नदीमा खसेको यात्रुवाहक बस दुर्घटनामा हराइरहेका थप एक जनाको शव फेला परेको छ। यससँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार, उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल तामाङको शव मंगलबार सुनकोसी नदी किनारमा भेटिएको हो। शव दुर्घटनास्थलबाट करिब २ सय ५० मिटर तल फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि मन्थली अस्पताल पठाएको छ ।

गत माघ २७ गते, नेपाल अरनिको यातायात सेवा प्रालिको बस काठमाडौंबाट ओखलढुंगाको पोल्थली जाँदै गर्दा लिलौतिको भिरबाट खसेको थियो। दुर्घटनाको दिन १२ जनाको शव घटनास्थलमै फेला परेको थियो भने ८ जना घाइते भएका थिए।

हराइरहेका ३ मध्ये सोमबार मात्र मन्थली–२ का ९ वर्षीय क्रिचन तामाङको शव सिन्धुलीको खुर्कोट किनारमा भेटिएको थियो। बसमा यात्रा गर्ने ८ वर्षीय बालक रोनिस तामाङको अवस्था अझै अज्ञात रहेको छ।