काठमाडौं मंसिर २१ । अमेरिका र बेलायतले भारतमा रहेका आफ्ना महिला नागरिकलाई सावधानी अपनाउन सुझाव दिएको छ ।
पछिल्लो समय भारत महिलाका लागि असुरक्षित बन्दै गएको भन्दै अमेरिका र बेलायत सरकारले भारतमा बसोबास गर्ने वा भारत भ्रमणमा रहेका आफ्ना महिला नागरिकका लागि ‘ट्राभल एड्भाइजरी’ जारी गरेका हुन् ।
उनीहरुले आफ्ना देशका नागरिकलाई भारतमा बलात्कार तथा यौन उत्पीडनका घटना बढिरहेकोतर्फ सचेत गराउँदै भारत भ्रमणका क्रममा सावधानी अपनाउन सुझाव दिएको हो । दुवै देशले कुनै दुव्र्यवहार भोग्नु परेमा प्रहरी समक्ष जान पनि सुझाव दिएका छन् ।
पछिल्लो समय भारतमा बलात्कार तथा यौन दुर्व्यवहारका घटना दैनिक जसो हुन थालेका छन् । गएको मंसिर १२ गते हैदराबादमा नजिकै २६ वर्षीया डाक्टरको बलात्कारपछि हत्या भएको थियो । बलात्कारको आरोपमा पक्राउ परेका चार जना आरोपी शुक्रबार हिरासतबाट भाग्न खोजेपछि प्रहरी इन्काउण्टरमा मारिएको बताइएको छ ।
त्यस्तै उत्तर प्रदेशको उन्नावमा बलात्कार पीडित एक युवतीको शुक्रबार राति उपचारका क्रममा ज्यान गएको छ । सन् २०१८ को डिसेम्बरमा ती युवतीमाथि सामूहिक बलात्कार भएको थियो । केही आरोपी युवक पक्राउ परे पनि केही जमानतमा छुटेका थिए ।
बिहीबार मात्रै आरोपीमध्येकै केहीले मुद्दा फिर्ता लिन दबाब दिँदै ती युवतीलाई जिउँदै जलाएका थिए । एअर एम्बुलेन्सबाट ती युवतीलाई दिल्ली ल्याइए पनि उनलाई बचाउन भने सकिएन ।













प्रतिक्रिया दिनुहोस्