काठमाडौं, फागुन १९ । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं समाजसेवी रत्न गौतमले रामेछापमा भएको सवारी दुर्घटनामा घाइते हुनुभएका बिरामीहरूलाई अस्पतालमै पुगेर भेटघाट गर्नुभएको छ। उहाँ मंगलबार काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुग्नुभएको हो।
हिजो रामेछाप नगरपालिका- २ देउरालीमा मतदान केन्द्रका कर्मचारी तथा निर्वाचन सामग्री लिएर गइरहेको सवारी साधन दुर्घटनामा पर्दा दुई जनाको ज्यान गएको थियो भने आठ जना घाइते हुनुभएको थियो। घाइतेमध्ये सात जनाको हाल काठमाडौंमा उपचार भइरहेको छ भने अन्य एक जनाको अवस्था सामान्य रहेको जनाइएको छ।
दुर्घटनामा परेको गाडीमा रामेछाप नगरपालिका- २ देउराली र रामेछाप नगरपालिका- ३ साँघुटार मतदान केन्द्रका कर्मचारीहरू सवार रहनुभएको बताइएको थियो। निर्वाचनका लागि खटिनुभएका कर्मचारी र सामग्री बोकेको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
अस्पताल पुगेर घाइतेहरूको अवस्था बुझ्दै गौतमले उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । उहाँले घाइते तथा उहाँहरूका परिवारजनसँग भेटघाट गर्दै ‘कुनै अप्ठ्यारो परे सम्पर्क गर्न अनुरोध गर्दै सक्दो सहयोग गर्ने बताउनुभयो ।
उहाँसँगै समाजसेवी दीपेन्द्र कार्की लगायतका व्यक्तित्वहरू पनि अस्पताल पुग्नुभएको थियो। उहाँहरूले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
दुर्घटनापछि रामेछाप जिल्लामा शोकको वातावरण छाएको छ। ज्यान गुमाउनुभएका दुई जनाप्रति विभिन्न राजनीतिक दल तथा स्थानीय सङ्घसंस्था, संगठनहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
हाल घाइतेहरूको अवस्थामा सुधार आएको अस्पताल स्रोतले जनाएको छ। चिकित्सकहरूको निगरानीमा उहाँहरूको उपचार जारी रहेको र आवश्यक सबै सेवा उपलब्ध गराइएको अस्पतालले जानकारी दिएको छ।













प्रतिक्रिया दिनुहोस्