जनता टाइम्स

२७ बैशाख २०७६, शुक्रबार २०:५४

चर्चित म्युजिसियनले बुहारी काटेपछि !


काठमाडौं, वैशाख २७

‘आमा बुहारी काटेर आएँ, प्रहरी बोलाउनुहोस’, विहिवार मध्यान्ह उज्वल महतले आफ्नी आमालाई भने । उज्वलको कुरा सुनेपछि उनकी आमा आश्चर्यचकित परिन् । नभन्दै गएर हेर्दा रगतले पुरै कोठा रग्ताम्मे भएको थियो ।

त्यसपछि प्रहरीलाई खवर गरियो । उज्वल तिनै हुन्, जसले चर्चित ‘सुन साइली’ बोलको गीतमा रेकर्डिङ गरेका थिए । उनै सुन्दर गीतका म्युजिसियनमाथि बिहीबार गम्भीर आरोप लागेको छ । आफ्नै घरमा बुहारीको निर्मम हत्या गरेको आरोपमा अहिले उनी प्रहरी खोरमा छन् ।

उज्वलले गत मे महिनामाा फेसबुक स्टाटसमा कानको समस्याका कारण अडियो इन्जिनियरिङ नगर्ने उल्लेख गरेका थिए । उनले पछिल्ला दिनमा आफ्नो फेसबुकमा शंकास्पद क्रियाकलाप देखिएको उल्लेख गरेका छन् । ‘एक्सीस ब्यान्ड’ मा संलग्न उनले ड्रमसेट बजाउने गरेको फेसबुक प्रोफाइलमा देखिन्छ । महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुका अनुसार उनको परिवारमा कसैसँग नराम्रो थिएन। खिउजुका अनुसार विगत केही महिनादेखि अलि अस्थिर भएको देखिन्छ।

परिवारसँग खासै राम्रो बोलचाल गर्दैनथे । यद्यपि दाजुभाइको सम्बन्ध सुमधुर थियो । छिमेकी उनलाई राम्रो छवि बनाइसकेका म्युजिसियनका रुपमा हेर्छन् । उनका चिनजानका साथीभाइ सभ्य र भद्र भन्छन् । एउटै घरमा बुबा–आमा, उज्वल उनकी श्रीमती र एक छोरासँगै भाइ बुहारी बस्थे । स्थानीयका अनुसार अहिलेसम्म सबै मिलेर बसेको बताउँछन् ।

बिहीबार भाइ अफिस गइसकेपछि उनले बुहारीमाथि नै खुकुरी प्रहार गरे। दिउँसो साढे एकबजेतिर २५ वर्षीय बुहारी अन्जना लामाको विभत्स हत्या गरेको प्रहरीको भनाई छ । बुहारीलाई काटिसकेपछि उनले खुकुरी बरन्डामा राखेका थिए । बुहारीमाथि खुकुरी प्रहार भएको कोठा पूरै रगतले छोपिएको छ । खिउजुका अनुसार उनको घाँटी छिन्नै लागेको थियो । टाउको र हातमा सयौँ पटक खुकुरी हानेका छन् ।

प्रहरीका अनुसार अभियुक्त महतको एउटा औंला काटिएको छ । बज्रबाराही अस्पतालमा उपचार हुन नसकेपछि उनलाई पाटन अस्पतालमा लगिएको थियो । पाटन अस्पतालले बी एण्ड बी पठाएको थियो । उनको औंलाको शल्यक्रिया गर्न समय लाग्ने भएपछि अहिले भने महानगरीय प्रहरी वृत्त चापागाउँमा राखिएको छ । बुहारी अञ्जना विदेश जाने तयारीमा थिइन् ।