जनता टाइम्स

८ चैत्र २०८२, आईतवार १८:०४

पाल्पाकाे तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता


पाल्पा, चैत ८ । पाल्पाको तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता भएका छन्। तिनाउ गाउँपालिका–३ दोभान ड्यामसाइडस्थित जलविद्युत आयोजनाको हेडबक्स नजिक उनीहरु डुबेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाँच जनाको समूहमा आएका पर्यटकमध्ये दुई पुरुष बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी होमप्रकाश चौधरीले डुबेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ स्थानीयवासी, सशस्त्र प्रहरी र दोभान प्रहरी चौकीको टोली खोजी कार्यमा खटिएको जानकारी दिनुभयाे।

उहाँका अनुसार बेपत्ता हुनेहरूको नाम र ठेगाना हालसम्म खुल्न बाँकी रहेको छ। घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।