जनता टाइम्स

१२ चैत्र २०८२, बिहीबार १५:११

सुनकोसी कटानको जोखिममा विश्वामित्र गुफा, संरक्षणका लागि तत्काल पहल आवश्यक


रामेछाप, चैत १२। रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित सुनकोसी नदी किनारमा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको विश्वामित्र गुफा नदी कटानको उच्च जोखिममा परेको छ।

सुनकोसी किनारमै रहेको उक्त गुफा धार्मिक आस्था र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। धार्मिक विश्वासअनुसार उक्त गुफामा विश्वामित्र ऋषिले तपस्या गरी सूर्य भगवानबाट गायत्री मन्त्र प्राप्त गर्नुभएको थियो। त्यसैले यस गुफालाई गायत्री मन्त्र प्रादुर्भाव भएको स्थलका रूपमा लिने गरिएको छ।

स्थानीय किंवदन्तीअनुसार विश्वामित्र ऋषिले कुशेश्वर महादेव मन्दिरमा पूजा गरी यही गुफामा तपस्या गर्नुहुन्थ्यो। जाडो याममा गुफाभन्दा माथि राकाथुमको चापाडीमा रहेको ढुङ्गामा घाम ताप्ने र गर्मीको समयमा सोही ढुङ्गाको च्यापमा रात बिताउने गरेको जनविश्वास छ।

लामो समयसम्म ओझेलमा परेको उक्त गुफामा पछिल्ला वर्षहरूमा संरक्षणका केही प्रयास गरिएका छन्। धार्मिक तथा पुरातात्त्विक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू र वडा कार्यालयको पहलमा गुफा वरपर आश्रमस्थल निर्माण, ढुङ्गा छाप्ने काम तथा प्रवेशद्वार (गेट) निर्माण गरिएको छ।

गुफाको संरक्षणका लागि सुनकोसी किनारमा तटबन्धसमेत गरिएको थियो। तर गत वर्ष रोसी र सुनकोसी नदीमा आएको बाढीले गुफा आसपासको तटबन्धमा क्षति पुर्‍याएको छ। बाढीका कारण गुफा क्षेत्रमा बालुवा जमेको थियो, जसलाई वडा कार्यालय र मन्दिर व्यवस्थापन समितिको सक्रियतामा सफा गरिएको छ।

यद्यपि, तटबन्ध मर्मतका लागि ठुलो बजेट आवश्यक पर्ने भएकाले हालसम्म पुनः निर्माण हुन सकेको छैन। यसले गर्दा आगामी वर्षमा सुनकोसीमा पुनः बाढी आएमा गुफा क्षेत्र थप जोखिममा पर्ने देखिएको छ।

स्थानीयवासीले उक्त ऐतिहासिक तथा धार्मिक सम्पदाको दीर्घकालीन संरक्षणका लागि सम्बन्धित निकायको ध्यान तत्काल जानुपर्ने आवश्यकता औँल्याएका छन्।