रामेछाप, चैत १३ । रामेछापको ऐतिहासिक धार्मिक शक्तिपीठ खाँडादेवी मन्दिरमा चैतेदशैँको सरकारी पूजा सम्पन्न भएको छ ।
खाँडादेवी विकास कोषको तर्फबाट राम नवमी–२०८२ को अवसरमा खाँडादेवीलाई सरकारी पूजा चढाइएको हो । कोषको तर्फबाट राँगो, बोका–पाठी, हाँस, कुखुरा र परेवाको पञ्चबलि चढाइएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिनुभयाे। काेषाका अध्यक्ष तामाङकाे घरबाट अन्माइएकाे घडा सहितकाे पूजा सामाग्री बाजागाजा सहित मन्दिरमा ल्याएर पूजा चढाइएकाे थियाे ।
नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले खाँडादेवीसँग बलपुकारा मागेको र विजय प्राप्त गरेपछि खाँडादेवीको सिला तीन पटकसम्म दरबार लैजान खोज्दा पनि बिच बाटोबाट नै अलप भई खाँडादेवी आएपछि दरबारको तर्फबाट नै खाँडादेवीलाई बलि दिने प्रचलन चलाएको भनाइ रहेको छ । खाँडादेवीमा रहेका गणेशलाई हाँस र कुखुराको पोथी, मङ्गलादेवीलाई भाले, भैरवीलाई राँगो, कमलामाईलाई परेवा र खाँडादेवीलाई बोका पाठी बलि दिने प्रचलन त्यस बेलादेखि नै रहँदै आएको छ ।

दरबारले पठाउँदै आएको पञ्चवली २००४ सालमा आएर रोकिएपछि पुजारीहरूले रकम संकलन गरी साे सरकारी पूजा गर्दै आएका थिए । २०७० सालमा खाँडादेवी विकास कोष स्थापना भएपछि अहिले सकारी पूजा सहित दैनिक नियमित पूजा, मन्दिर व्यवस्थापन तथा विभिन्न सामाजिक काम कोष मार्फत हुँदै आएको छ ।
सरकारी पूजाको दिन बिहानै खाँडादेवीका सबै पुजारीहरू नुहाइधुवाई गरेर देवीलाई चढाउने धूप, अक्षता, नैवेद विशेष किसिमले सिँगारेको डालोमा लिएर पञ्चेबाजा सहित बलि चढाउने पन्छी र चौपाया लिएर घरबाट निस्कन्छन् । त्यस पछि मन्दिर परिक्रम गरी सबैको सुख, समृद्धि र विश्व शान्तिको कामना गर्दै देवीका थानहरूमा बल पुकारा मागिन्छ र बलि दिइन्छ ।

खाँडादेवीलाई किराँतकालिन देवी मानिन्छ । त्यसैले यसको इतिहास निक्कै पुरानो छ । कहावत अनुसार रामेछापको गेलुका सनमान पहरी र दुमना पहरीको कोखबाट जन्मिएकी सुन्दरी कन्या सुकमायालाई तत्कालीन राजाले रानी बनाउन दरबार लगेकामा दरबारमा बस्न नरुचाएपछि घर फर्काइदिने क्रममा खाँडादेवीमा आएपछि ती कन्या मानिसको रूपबाट अलप भएर तीतेपातीको छाप्रो हालेर बसिन् । पछि त्यही स्थानमा शिला फेला पर्यो र त्यही शिलालाई खाँडादेवी भनेर पूजा गर्न थालियो । त्यसैले खाँडादेवीलाई दरबारकी देवी र महारानी भनेर पुकारिन्छ ।

खाँडादेवी गाउँपालिका–२ र ७ को सिमानामा रहेको खाँडादेवी मन्दिर रामेछापको ऐतिहासिक, धार्मिक शक्तिपीठ मानिन्छ । यसको चर्चा देवीभागवत महापुराण र शिवपुराणको हिमवत खण्डमा पनि गरिएको छ ।
मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । त्यसले यसको पुरातात्विक महत्त्व झल्काउँछ । त्यसैले पुरातत्त्व विभाग मार्फत पुरातत्त्व नखलबलिने गरी मन्दिरको पुनर्निर्माण तथा मन्दिर परिसरमा संरचना निर्माणको काम भएको छ ।

शिवपुराणको हिमवत खण्डमा उल्लेख भए अनुसार रोशमति (रोशी खोला) र (सुवर्ण कौशिका) सुनकोशी नदीको सङ्गम कुशेश्वरमा देवीले वृतासुरको वध गरी दुर्गा नदीमा खड्ग पखालेर खाँडादेवीमा खड्ग गाडी कालिञ्चोकमा अन्तर्ध्यान भएको उल्लेख छ । देवीले गाडेको भनिएको खड्ग अहिले पनि खाँडोदेवीमा छ । अहिले मन्दिरमा दर्शन गर्न देशभरिका साथै भारतबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् ।













प्रतिक्रिया दिनुहोस्