जनता टाइम्स

२२ चैत्र २०८२, आईतवार १०:०५

बाढीले बगाएको अँधेरी खोला पुल पुनर्निर्माण प्रक्रिया अघि बढ्दै, दाेरम्बा शैलुङबासीमा आशा जाग्यो


रामेछाप, चैत २२ । गत २०८१ साल भदौ ८ गते राति परेको भीषण अविरल वर्षा र बाढीले दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्क पहरी बस्तीसँगै बगाएकाे पक्की पुल पुननिर्माण हुने भएकाे छ। बाढीले बगाएको अँधेरी खोला पुल पुनर्निर्माणको प्रक्रिया अब औपचारिक रूपमा अघि बढ्ने भएको छ।

उक्त प्राकृतिक विपत्तिमा उर्मिला पहरीसहित १० जनाले ज्यान गुमाएका थिए भने सिंगो पहरी बस्ती नै असुरक्षित बनेको थियो। बाढीले दाेरम्मबा शैलुङ गाउँपालिका क्षेत्रको यातायात तथा जनजीवनमा गम्भीर असर पुर्‍याएको थियो।

नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुंगेल प्रदेशका अर्थमन्त्री रहँदा बजेट विनियोजन गरी निर्माण सम्पन्न भएको पुल बाढीले बगाएपछि स्थानीयवासी थप समस्यामा परेका थिए। पुल नहुँदा आवतजावत, दैनिक उपभोग्य सामग्रीको ढुवानी तथा अत्यावश्यक सेवामा कठिनाइ हुँदै आएको थियो।

अब भने पार्टी नेता कैलाशप्रसाद ढुंगेल, वाग्गमती प्रदेश सभा उद्याेग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ, प्रदेश सभा सदस्य युवराज चाैलागाईँ लगायत विभिन्न पक्षको साझा पहलमा अँधेरी खोला पुल पुनर्निर्माणको प्रक्रिया अगाडि बढ्ने भएको छ। यस सम्बन्धमा पुल निर्माणसँग सम्बन्धित प्राविधिक विज्ञहरूको टोलीले अँधेरी खोलास्थलमै पुगेर छलफल गरेको एमाले नेता तुलप्रसाद कंडेलले जानकारी दिनुभयाे ।

छलफलमा सहभागी प्राविधिक पक्षका अनुसार ४५ मिटर लम्बाइको लठ्ठावाला स्टिल ब्रिज निर्माणका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाइनेछ। हेटौंडास्थित सम्बन्धित कार्यालयमा प्राविधिक प्रतिवेदन पुग्नेबित्तिकै निर्माण प्रक्रिया सुरु गरिने जानकारी दिइएको छ।

स्थानीयवासीले समयमै पुल निर्माण सम्पन्न भए यस क्षेत्रको जनजीवन सहज हुने अपेक्षा गरेका छन्। गत भदौको विपत्तिपछि सडक सञ्जाल र आवतजावतमा आएको अवरोधले स्थानीयलाई लामो समयदेखि सास्ती दिँदै आएको छ।

स्थानीय तह तथा प्रदेशस्तरको समन्वयमा पुल निर्माण कार्य शीघ्र सम्पन्न हुनेमा प्रभावित बस्तीका नागरिक आशावादी देखिएका छन्।