रामेछाप, चैत २२ । वर्षौंदेखि पारिवारिक हिंसा सहँदै आउनुभएकी गोकुलगंगा गाउँपालिका–६ फर्पुकी ३४ वर्षीया शर्मिला तामाङलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग प्रदान गरेको छ। अस्पतालको शय्यामा पीडासँग संघर्ष गरिरहनुभएकी शर्मिलालाई इन्सेकले राहतस्वरूप १० हजार रुपैयाँ हस्तान्तरण गरेको हो।
आइतबार मन्थलीस्थित मन्थली नगर अस्पतालमा पुगेर इन्सेकका तर्फबाट जिल्ला प्रतिनिधि नवराज पथिकले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभयो। सहयोग हस्तान्तरण कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँ, मन्थली नगर अस्पतालका प्रमुख डा. केशव धामीलगायतको उपस्थिति रहेको थियो।
शर्मिला चैत १५ गते राति आफ्नै पति ३६ वर्षीय गोपीलाल तामाङको कुटपिटबाट गम्भीर घाइते हुनुभएको थियो। २०७० सालमा प्रेमविवाह गरेपछि विवाहको सुरुदेखि नै श्रीमान्बाट निरन्तर हिंसा र यातना सहँदै आएको पीडितले बताउनुभएको छ।
कुटपिटपछि गम्भीर घाइते हुनुभएकी शर्मिलाको सुरुमा तामाकोशी अस्पताल मन्थलीमा उपचार गरिएको थियो। उहाँकाे दुई दिनपछि मन्थली नगर अस्पतालमा थप उपचार सुरु गरिएको थियो। दाँतमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको र त्यहाँ उपचारपछि पुनः शनिबारदेखि मन्थली अस्पतालमै उपचार जारी रहेको अस्पतालले जनाएको छ।

उहाँसँगै १२ वर्षीया छोरी गुञ्जन तामाङ र ७ वर्षीय छोरा सुजल तामाङ अस्पतालमै साथमा रहेका छन्। आमाको पीडादायी अवस्थासँगै बालबालिकाको भावनात्मक अवस्था पनि अत्यन्त संवेदनशील बनेको स्थानीयले बताएका छन्।
घटनापछि प्रहरीले घरेलु हिंसाको आरोपमा गोपीलाल तामाङलाई चैत १७ गते घरबाटै पक्राउ गरेको छ। हाल उहाँ प्रहरी हिरासतमा रहेको प्रहरीले जनाएको छ।
मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले पीडितलाई न्याय दिलाउन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले महिलामाथि हुने घरेलु हिंसाविरुद्ध समाज र राज्य संयन्त्र दुवै संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
पीडित शर्मिलाले आफूलाई पटक–पटक यातना दिइएको, कुटपिटपछि समेत आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको गुनासो गर्नुभएको छ। उहाँको यो पीडाले घरेलु हिंसाका घटनाहरू अझै पनि समाजमा गहिरो रूपमा विद्यमान रहेको कटु यथार्थ उजागर गरेको छ।













प्रतिक्रिया दिनुहोस्