वीरगञ्ज, वैशाख १ । पर्साको वीरगञ्ज महानगरपालिका–९ मा एक प्रहरी जवानको हत्या भएको छ। विवाहेतर सम्बन्धको विषयलाई लिएर भएको भनिएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कालिकामाई गाउँपालिका–१, मुडली घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत २८ वर्षीय प्रहरी जवान विकास चौरसिया को हत्या भएको हो।
पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेत का अनुसार चौरसियामाथि धारिलो हतियार तथा फलामको रड प्रयोग गरी निर्घात कुटपिट गरिएको थियो। घटनाबारे सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले अचेत अवस्थामा उनलाई तत्काल अस्पतालतर्फ लगेको भए पनि बाटोमै मृत्यु भएको जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट घटना विवाहेतर प्रेम सम्बन्ध का कारण भएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चौरसिया रानीघाटस्थित भारतीय महावाणिज्य दूतावास पछाडि रहेको एक डेरामा पुगेका बेला उनीमाथि आक्रमण भएको थियो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटका २६ वर्षीय सन्तोष साह, उनकी पत्नी २४ वर्षीया सोनी कुमारी साह, बाराको महागढी नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह तथा भारत उत्तरप्रदेश अलीगढ निवासी २१ वर्षीय ओमवीर प्रजापति लाई पक्राउ गरेको छ।
अनुसन्धानका क्रममा मृतक चौरसिया र सोनी कुमारीबीच विवाहेतर सम्बन्ध रहेको थाहा पाएपछि सन्तोष साहले हत्या योजना बनाएको प्रारम्भिक निष्कर्ष प्रहरीको छ। सोही योजनाअनुसार चौरसियालाई कोठामा बोलाएर चारै जनाले रडले प्रहार गरी कुटपिट गरेको जनाइएको छ।
मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ। घटनाको थप कारण र अन्य संलग्न व्यक्तिबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्