काठमाडौं, वैशाख २ । प्युठानमा जंगलभित्र अवैध रूपमा शिकारीले चलाइएको गोली लागेर एक किशोरको मृत्यु भएको छ भने उहाँसँगै रहेकी एक किशोरी घाइते हुनुभएको छ। प्रहरीका अनुसार शिकारीले बँदेल ठानेर गोली चलाउँदा घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार चैत २९ गते राति गौमुखी गाउँपालिका–४ सुँगुरखालस्थित जुपाल सामुदायिक वनमा घटना भएको हो। गोली लागेर नौबहिनी गाउँपालिका–४ खबाङका १९ वर्षीय सुशील परियार गम्भीर घाइते हुनुभएको थियो।
उहाँको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा चैत ३० गते मृत्यु भएको प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो।
घटनामा उहाँसँगै रहेकी गौमुखी गाउँपालिका–४ की १८ वर्षीया किशोरी पनि घाइते हुनुभएको छ। प्रहरीका अनुसार उहाँको अवस्था खतरामुक्त रहेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार गौमुखी–४ खलाबाङका २७ वर्षीय वीरेन्द्र केसी सहित चारजना शिकार खेल्न जंगल पुगेका थिए। राति करिब १०:४५ बजे झाडी हल्लिएको र प्लास्टिक बजेको आवाज सुनेपछि जंगली जनावर भएको आशंकामा केसीले भरुवा बन्दुकबाट गोली चलाउनुभएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले मुख्य आरोपीसहित चार जनालाई पक्राउ गरेको छ। घटनामा प्रयोग गरिएका दुई थान भरुवा बन्दुकसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
मृतकका बुबा गाजिराम दमाईको जाहेरीका आधारमा पक्राउ परेका चारै जनामाथि ज्यानसम्बन्धी कसुर तथा हातहतियारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्