रामेछाप, वैशाख १५ । मानिसको जीवन विश्वास र आस्थामा अडिएको हुन्छ। सुख होस् वा दुःख, मानिसले आफूले विश्वास गरेको शक्तिलाई नै सम्झने गर्दछ। रामेछापमा यस्तै गहिरो आस्था र विश्वासको केन्द्र बनेको एक शक्तिपीठ छ-खाँडादेवी।
स्थानीय बासिन्दाका लागि खाँडादेवी मन्दिर केवल धार्मिक स्थल मात्र होइन, जीवनका हरेक उतारचढावमा साथ दिने शक्तिका रूपमा स्थापित छ। दुःख पर्दा यही देवीलाई पुकार्ने र दुःखबाट मुक्ति पाएपछि फेरि भाकल पूजा गर्न आउने परम्परा रहँदै आएको छ ।
खाँडादेवी यस क्षेत्रकै प्रसिद्ध देवीको मन्दिरका रूपमा परिचित छ। काठमाडौँ उपत्यकादेखि पूर्वी नेपालका विभिन्न जिल्लासम्मका साथै भारतबाट समेत भक्तजनहरू यहाँ दर्शनका लागि आउने गर्छन्। आपत्–विपतमा देवीलाई सम्झने र त्यसबाट पार पाएपछि धन्यवाद स्वरूप पूजा गर्ने चलनले यस मन्दिरलाई विशेष बनाएको छ।

दैनिक रूपमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट दर्शनार्थीहरू खाँडादेवी पुग्ने गरेका छन्। काठमाडौँबाट करिब चार घण्टा र बर्दिबासबाट पनि झण्डै त्यति नै समयमा पुग्न सकिने भएकाले यो स्थल धार्मिक मात्र होइन, पर्यटकीय गन्तव्यका रूपमा पनि विकास हुँदै गएको छ।
इतिहासका दृष्टिले पनि खाँडादेवी महत्त्वपूर्ण मानिन्छ। यसलाई किराँतकालीन मन्दिरका रूपमा लिइन्छ। मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट तथा सोभन्दा अघिका चाँदीका जन्तरलगायतका बहुमूल्य सामग्रीहरू अझै सुरक्षित छन्, जसले यसको पौराणिकता र ऐतिहासिक महत्वलाई पुष्टि गर्दछ।
मन्दिरको संरक्षण तथा व्यवस्थापनको जिम्मा खाँडादेवी विकास कोषले लिँदै आएको छ। पछिल्लो समय धार्मिक पर्यटनको सम्भावना बढेसँगै यस क्षेत्रको पूर्वाधार विकासमा पनि ध्यान दिन थालिएको छ।
यसरी, खाँडादेवी केवल एक मन्दिर होइन- भक्तजनको लागि आशा, भरोसा र आस्थाको जीवित प्रतीक बनेको छ, जहाँ मानिसहरू सुख साट्न र दुःख बिर्सन पुग्ने गर्छन्।













प्रतिक्रिया दिनुहोस्