रामेछाप, वैशाख १८ । गत वर्ष आएको भीषण बाढीका कारण सुनकोशी नदीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खैरेनीघाटमा निर्माण गरिएको बेलिब्रिज औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।
भारत सरकारको सहयोगमा निर्माण गरिएको ७० मिटर लामो स्पानको उक्त बेलिब्रिज शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो। पुलको संयुक्त रूपमा उद्घाटन नेपालस्थित भारतीय राजदूतावासका काउन्सिलर गिताञ्जली ब्रैडन र नेपाल सरकारको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागका महानिर्देशक डा. विजय जैशीले गर्नुभएको हो।
उद्घाटनपछि पुल सञ्चालनमा आएसँगै रामेछाप जिल्लाका सुनापति, दोरम्बा, खाँडादेवी लगायत पश्चिमी क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा उल्लेखनीय सहजता भएको छ। विशेषगरी बीपी राजमार्ग हुँदै काठमाडौं तथा तराईतर्फ यात्रा गर्नुपर्ने यात्रुहरूलाई अब वैकल्पिक लामो मार्ग प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको छ।
यसअघि बाढीले पक्की पुल बगाएपछि स्थानीयवासीलाई खाँडादेवीको सित्खा वा सुनापतिको सिँदुरेटार क्षेत्र हुँदै वैकल्पिक मार्ग प्रयोग गरी बीपी राजमार्गसम्म पुग्नुपर्ने कठिनाइ थियो। लामो दूरी र समय लाग्ने उक्त वैकल्पिक मार्गका कारण सर्वसाधारण, विद्यार्थी, बिरामी तथा व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका थिए।
पुल बगाएपछि तत्कालै बेलिब्रिज निर्माण गर्नुपर्ने माग स्थानीय स्तरबाट निरन्तर उठ्दै आएको थियो। तर विभिन्न प्राविधिक तथा प्रक्रियागत कारणले करिब डेढ वर्षपछि मात्रै उक्त बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो।

यसैबीच, सोही स्थानमा स्थायी पक्की पुल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। सम्बन्धित निकायका अनुसार स्थायी संरचना निर्माणका लागि हालै टेन्डर आह्वानसमेत गरिएको छ ।जसअनुसार आगामी दिनमा दीर्घकालीन समाधानस्वरूप पक्की पुल निर्माण हुने अपेक्षा गरिएको छ।
स्थानीयवासीले बेलिब्रिज सञ्चालनमा आएपछि राहत महसुस भएको बताएका छन्। उनीहरूले तत्कालीन आवागमन सहज भए पनि स्थायी पुल निर्माणलाई अझ प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
सरकार र विकास साझेदारको सहकार्यमा निर्माण भएको यो संरचनाले अस्थायी रूपमा भए पनि क्षेत्रीय यातायात सञ्जाल पुनः सुचारु गर्न महत्वपूर्ण भूमिका खेलेको छ।













प्रतिक्रिया दिनुहोस्