जनता टाइम्स

१८ बैशाख २०८३, शुक्रबार २०:१७

सुनुवार समुदायले विशेष उत्सवका साथ मनाए उँभौलीपर्व अर्थात् चण्डीपूजा


रामेछाप, वैशाख १८ । रामेछापका सुनुवार समुदायले आफ्नो मौलिक सांस्कृतिक पहिचान झल्काउने उँभौलीपर्व अर्थात् चण्डीपूजा विशेष उत्साहका साथ मनाउनुभएको छ।

उमाकुण्ड गाउँपालिका–४ स्थित चण्डी थानमा आयोजित धार्मिक अनुष्ठानमा स्थानीय सुनुवार समुदायको सक्रिय सहभागिता रहेको थियो। परम्पराअनुसार मौलोमा राँगोको बलि दिई पूजा सम्पन्न गरिएको हो। साथै, बोका र कुखुराको भालेको बलिसमेत चढाइएको चण्डी व्यवस्थापन समिति उमाकुण्ड–४ का अध्यक्ष विनोदकुमार सुनुवारले जानकारी दिनुभयो।

उहाँका अनुसार आठ पगरी पुजारीहरूले विभिन्न स्थानमा बसेर रेखी हाली विधिपूर्वक पूजा सम्पन्न गर्नुभएको थियो। पूजा कार्यक्रमसँगै चण्डी नाच प्रस्तुत गर्दै पर्वलाई सांस्कृतिक उत्सवका रूपमा मनाइएको छ।

उहाँले पछिल्लो समय नयाँ पुस्तामा परम्परागत संस्कृति र संस्कारप्रति चासो घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। यसले यस्ता मौलिक संस्कार संरक्षणमा चुनौती थपिएको उहाँको भनाइ छ।

उँभौली पर्व वैशाख पूर्णिमाका दिन मनाइने महत्वपूर्ण किराँती चाड हो, जसमा पितृ र प्रकृतिप्रति श्रद्धा व्यक्त गरिन्छ। यस अवसरमा भूमिपूजा गर्दै सकेला सिली नाच प्रदर्शन गर्ने परम्परा रहिआएको छ।

किराँती समुदाय प्रकृतिपूजक भएकाले बाली लगाउने समय प्रकृतिलाई प्रसन्न पार्ने विश्वासका साथ उँभौली मनाउने गरिन्छ। यस्तै, अन्नबाली भित्र्याइसकेपछि मंसिर पूर्णिमामा उँधौली पर्व उल्लासपूर्वक मनाउने परम्परा रहेको छ।

उँभौली पर्वलाई कृषि चक्रसँग जोडिएको सांस्कृतिक धरोहरका रूपमा लिइन्छ। बाली राम्रो होस्, समाजमा सुख, शान्ति र सुस्वास्थ्य कायम रहोस् तथा प्राकृतिक विपत्तिबाट जोगिन सकियोस् भन्ने कामनासहित यो पर्व मनाउने गरिन्छ।

आदिवासी किराँती समुदायमा प्रचलित यो पर्व प्राचीनकालदेखि नै मनाइँदै आएको विश्वास गरिन्छ। पृथ्वीमा कृषि युगको सुरुवातसँगै यसको अभ्यास सुरु भएको मान्यता रहिआएको छ । जसले यस पर्वको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई थप प्रष्ट पार्छ।