रामेछाप, वैशाख २७ । खाँडादेवी मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्रै होइन, इतिहास, संस्कृति र जनविश्वासको जीवित प्रतीक पनि हो । किराँतकालदेखि शक्तिपीठका रूपमा परिचित यो मन्दिरमा वर्षौँदेखि भक्तजनहरू खाजा-सामल र पूजा सामानकाे भारी बोकेर उकालो चढ्ने गर्थे । पूजा सामग्री, खाजा–सामलदेखि भाँडाकुँडासम्म बोकेर मन्दिर पुग्नु यहाँ आउने दर्शनार्थीको बाध्यता जस्तै बनेको थियो । तर अब समय फेरिएको छ ।
खाँडादेवी दर्शन गर्न जाने भक्तजनले अब खाना, खाजा र पूजा सामग्री बोकेर जानु नपर्ने भएको छ । मन्दिर परिसरमै होमस्टे, खाजा घर तथा पूजा सामग्री पसल सञ्चालनमा आएपछि दर्शनार्थीलाई निकै सहज भएको हो ।
विशेषगरी काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट आउने श्रद्धालुहरूका लागि यो सुविधा ठूलो राहत बनेको छ । मन्दिर परिसरमा नै पूजा सामग्री, प्रसाद, खाना तथा बासको व्यवस्था भएपछि पारिवारिक तथा सामूहिक रूपमा दर्शन गर्न आउनेहरू उत्साहित देखिएका छन् ।
मन्दिरमा बलि पूजा चढाउन आउने भक्तजनका लागि समेत विशेष व्यवस्था गरिएको छ । बलिका लागि ल्याइने बोका तथा राँगा खुइल्याइदिने, काटेर पिस बनाइदिने र चाहनेका लागि पकाइदिने सेवा पनि उपलब्ध छ । पकाउन तथा खान आवश्यक पर्ने भाँडाकुँडा समेत भाडामा पाइने व्यवस्था भएपछि धार्मिक पिकनिकका लागि पुग्ने समूहहरूलाई थप सहज भएको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर २ र ७ को सीमाक्षेत्रमा रहेको यो मन्दिरलाई ऐतिहासिक धार्मिक शक्तिपीठका रूपमा चिनिन्छ । स्थानीय जनविश्वासअनुसार देवी खाँडाको उत्पत्ति प्राचीन कालमै भएको मानिन्छ । यही कारण यो मन्दिरलाई शक्ति, साहस र मनोकामना पूरा हुने स्थलका रूपमा श्रद्धापूर्वक पूजा गरिन्छ ।
बडादशैँ, चैतेदशैँ तथा विशेष धार्मिक अवसरमा यहाँ हजारौँ भक्तजनको भीड लाग्ने गर्दछ । पछिल्ला वर्षहरूमा सडक पहुँच विस्तार र स्थानीयस्तरमा सेवा–सुविधा थपिँदै गएपछि खाँडादेवी धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ ।
पहिले दर्शन गर्न आउँदा भारी बोकेर उकालो चढ्नुपर्ने बाध्यता थियो । अहिले भने मन्दिर परिसरमै यातायात साधन पुग्ने र आवश्यक सबै सुविधा उपलब्ध भएपछि भक्तजनहरू सहज रूपमा दर्शन, पूजा र बसाइँको अनुभव लिन थालेका छन् । स्थानीयका अनुसार यसले धार्मिक पर्यटनसँगै गाउँको आर्थिक गतिविधि पनि चलायमान बनाउन थालेको छ ।
आस्था, इतिहास र प्राकृतिक सौन्दर्यको संगम बनेको खाँडादेवी अब केवल शक्तिपीठ मात्रै होइन, आधुनिक सुविधा जोडिएको धार्मिक गन्तव्यका रूपमा पनि विस्तारै परिचित बन्दै गएको छ ।













प्रतिक्रिया दिनुहोस्