रामेछाप, जेठ ९ । जिल्लाको पुरानो सदरमुकामका रामेछाप बजार अब नयाँ स्वरूपमा देखिने भएको छ । लामो समयदेखि अव्यवस्थित र साँघुरो सडकका कारण समस्या झेल्दै आएको बजार क्षेत्रमा अहिले सडक विस्तारको काम तीव्र रूपमा अघि बढेको छ ।
सेलेघाट–सालु–साँघुटार सडक निर्माण आयोजनाअन्तर्गत रामेछाप बजार क्षेत्रमा सडक चौडा बनाउने, नाला निर्माण गर्ने तथा पर्खाल लगाउने काम भइरहेको छ । वर्षौंदेखि रोकिएको सडक विस्तारको काम अघि बढेपछि स्थानीयवासी उत्साहित बनेका छन् ।
रामेछाप बजार करिब २०८ वर्षसम्म जिल्ला सदरमुकाम रहेको ऐतिहासिक बस्ती हो । २०४५ सालसम्म जिल्लाको प्रशासनिक केन्द्रका रहेको यो बजारबाट सदरमुकाम मन्थली सारिएपछि चहलपहल क्रमशः घट्दै गएको थियो । सरकारी कार्यालयहरू सरेसँगै व्यापारिक गतिविधि पनि कमजोर बन्दै गएको स्थानीयहरू बताउँछन् ।
तर अहिले सडक विस्तारको काम अघि बढेसँगै बजार पुनः व्यवस्थित र आकर्षक बन्ने अपेक्षा गरिएको छ । बजार क्षेत्रमा पहिले रहेको सडक अत्यन्त साँघुरो हुँदा सवारी साधन सञ्चालनमा कठिनाइ हुने गरेको थियो । पैदलयात्रीदेखि स्थानीय व्यापारीसम्मले सडकको अवस्थाका कारण समस्या भोग्दै आएका थिए ।
सडक विस्तारको काम भने लामो समयसम्म जग्गा विवादका कारण रोकिएको थियो । सडक क्षेत्रभित्र परेका घरधनीहरूले मुआब्जा लिइसकेपछि पनि घर भत्काउन नमानेका कारण निर्माण कार्य अघि बढ्न सकेको थिएन । यसले आयोजना नै अलपत्र पर्ने अवस्था सिर्जना गरेको थियो ।
अहिले भने मुआब्जा लिएका घरहरू भत्काइएकाे छ । घर हटाइएसँगै सडक चौडा बनाउने कामले गति लिएको हो । निर्माण कम्पनीले बजार क्षेत्रमा नाला निर्माण, पर्खाल उठाउने तथा सडकको आधार तयार गर्ने काम एकसाथ अघि बढाइरहेको जनाएको छ ।
स्थानीयवासीका अनुसार सडक पिच भएपछि रामेछाप बजारको स्वरूप नै फेरिनेछ । व्यवस्थित सडक, नाला र चौडा बजार क्षेत्र बनेपछि व्यापारिक गतिविधि बढ्ने र आन्तरिक तथा बाह्य आवागमन सहज हुने विश्वास गरिएको छ ।
स्थानीयहरूका अनुसार ऐतिहासिक महत्व बोकेको रामेछाप बजार लामो समयदेखि विकासको पर्खाइमा थियो । सदरमुकाम सरेपछि ओझेलमा परेको बजार अब सडक पूर्वाधारसँगै पुनर्जीवित हुने अपेक्षा गरिएको छ ।
सडक विस्तारसँगै बजार क्षेत्रमा नयाँ घर निर्माण, व्यापार विस्तार र लगानीको सम्भावना पनि बढ्ने स्थानीय व्यवसायीहरू बताउँछन् । व्यवस्थित सडक निर्माण भएपछि रामेछाप बजार फेरि एकपटक जिल्लाको महत्वपूर्ण व्यापारिक केन्द्रका रूपमा विकास हुने विश्वास लिइएको छ ।













प्रतिक्रिया दिनुहोस्