रामेछाप, जेठ ९ । रामेछापको उमाकुण्ड गाउँपालिका–७ ठिनकेपुमा २१६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएकाे छ ।
पुल निर्माण भए पछि स्थानीयवासीको आवतजावत सहज बनेको छ । वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीयले पुल सञ्चालनमा आएपछि राहत महसुस गर्न थालेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिएको उक्त पुलले बुम्देल डाँडा, पिपल डाँडा तथा आसपासका बस्तीलाई सुरक्षित रूपमा जोडेको हो । पुल सञ्चालनमा आएपछि विशेष गरी वर्षायाममा स्थानीयवासीले झेल्दै आएको समस्या कम भएको बताइएको छ ।
यसअघि पहिरोका कारण स्थानीयहरूले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने अवस्था थियो । वर्षा याममा पहिरो सक्रिय हुँदा वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य सेवामा पुग्न समेत नागरिकलाई निकै कठिन हुने गरेको थियो । विद्यार्थीदेखि वृद्धवृद्धासम्मले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था अन्त्य गर्न लामो समयदेखि झोलुङ्गे पुल निर्माणको माग गर्दै आएका थिए ।
उमाकुण्ड गाउँपालिका–७ का वडा अध्यक्ष रुद्रमणि नेवारका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको दुई करोड चार लाख रुपैयाँभन्दा बढी लागतमा साविक वडा नं. ३ ठिनकेपु क्षेत्रमा पुल निर्माण गरिएको हो । पुलले वडा कार्यालय नजिकैको बुम्देल डाँडालाई जोड्नुका साथै पिपल डाँडा, फास्तु हुँदै लिखुतामाकोशी क्षेत्रसम्म पुग्न सहज बनाएको उहाँले बताउनुभयाे । पुल निर्माणसँगै पहिरोको त्रास कम भएको र स्थानीयवासीले सुरक्षित रूपमा यात्रा गर्न पाएका छन् ।
कास्थेम माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरूलाई पनि पुलले ठूलो राहत दिएको छ । यसअघि पहिरोका कारण विद्यार्थीहरू विद्यालय आउजाउ गर्न डराउने अवस्था रहेको थियो । अहिले भने पुलका कारण नियमित रूपमा विद्यालय पुग्न सहज भएको स्थानीयको भनाइ छ ।
यस्तै वडा कार्यालयको सेवा लिन आउने स्थानीयवासीलाई समेत ठूलो सुविधा पुगेको जनाइएको छ । पुल निर्माणसँगै स्थानीय स्तरमा सामाजिक तथा आर्थिक गतिविधि समेत बढ्ने अपेक्षा गरिएको छ ।
पुलको केही प्राविधिक काम अझै बाँकी रहेकाले निर्माण कम्पनीलाई छिट्टै काम सम्पन्न गर्न ताकेता गरिएको वडा अध्यक्ष नेवारले जानकारी दिनुभयाे । स्थानीयवासीले भने पुल पूर्ण रूपमा सञ्चालनमा आएपछि वर्षौंदेखिको जोखिमपूर्ण यात्रा अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्