जनता टाइम्स

९ जेष्ठ २०८३, शनिबार ०८:०७

‘ग्लोबल साउथ’ र चीनको विश्व दृष्टिबारे काठमाडौंमा अन्तर्राष्ट्रिय विमर्श


काठमाडौं, जेठ ९ । चिनियाँ राष्ट्रपति सि जिनपिङले अघि सारेको ‘ग्लोबल साउथ’ अवधारणा, चीनको शासन पद्धति तथा बदलिँदो विश्व शक्ति सन्तुलनबारे काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको विचार मन्थन गरिएको छ ।

फ्रेन्डस अन क्लाउडले आयोजना गरेको अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाल, भारत, चीन, भुटान र बंगलादेशका विज्ञ तथा राजनीतिक विश्लेषकहरूले समसामयिक विश्व राजनीति, विश्वव्यापी शासन प्रणाली र विकासशील राष्ट्रहरूको भूमिकाबारे धारणा राखेका थिए ।

कार्यक्रममा राष्ट्रपति सि जिनपिङले अघि सारेका विश्वव्यापी शासनसम्बन्धी अवधारणा, चीनका अन्तर्राष्ट्रिय पहल, त्यसको प्रभाव तथा पछिल्लो समय बदलिएको विश्व शक्ति सन्तुलनका विषयमा विस्तृत छलफल भएको थियो ।

वक्ताहरूले विकसित र विकासशील राष्ट्रबीच बढ्दो असमानता, बहुध्रुवीय विश्व व्यवस्थाको आवश्यकता तथा विश्व राजनीतिमा उदाउँदा राष्ट्रहरूको प्रभावका विषयमा पनि धारणा राख्नु भएकाे थियाे ।

गोष्ठीमा क्लाउडका अध्यक्ष शोभित उप्रेती, अर्थशास्त्री डा. सुदन ओली, कार्यक्रम संयोजक मनिषा श्रेष्ठ, भुटानका पूर्वमन्त्री कर्मा दोर्जी, बंगलादेशका नेता डा. बेलाल होसिन तथा भारतकी विदेश मामिला विज्ञ एवं प्राध्यापक डा. रेणु राना लगायतले आफ्नो धारणा राख्नु भएकाे थियाे ।

वक्ताहरूले राष्ट्रपति सि जिनपिङले ‘ग्लोबल साउथ’ अर्थात् विकासशील तथा उदाउँदा राष्ट्रहरूको समूहलाई विश्व विकास र अन्तर्राष्ट्रिय व्यवस्थाको महत्वपूर्ण शक्ति भन्दै आएको उल्लेख गर्नुभयाे । उहाँहरूका अनुसार विश्व शान्ति कायम गर्ने, साझा विकासलाई अगाडि बढाउने तथा अन्तर्राष्ट्रिय शासन प्रणालीमा सुधार ल्याउने कार्यमा ग्लोबल साउथको भूमिका महत्वपूर्ण बन्दै गएको छ ।

कार्यक्रममा विकासशील राष्ट्रहरूले विश्व शासन प्रणालीमा समान अधिकार र प्रतिनिधित्व पाउनुपर्ने विषयमा पनि जोड दिइएको थियो । विश्व शक्ति संरचनामा सीमित राष्ट्रहरूको प्रभुत्व अन्त्य गर्दै सबै देशलाई समान अवसर प्रदान गर्नुपर्ने धारणा वक्ताहरूले राख्नु भएकाे थियाे ।

वक्ताहरूका अनुसार चीनले ग्लोबल साउथका राष्ट्रहरूसँग विकास, पूर्वाधार, प्रविधि हस्तान्तरण तथा गरिबी न्यूनीकरणका क्षेत्रमा सहकार्य गर्न चाहेको सन्देश यो अवधारणाले दिएको छ ।

गोष्ठीमा बहुध्रुवीय विश्व व्यवस्था निर्माणमा ग्लोबल साउथ निर्णायक शक्ति बन्न सक्ने विषयमा समेत चर्चा गरिएको थियो । सहभागीहरूले बदलिँदो विश्व राजनीतिमा विकासशील राष्ट्रहरूको एकता र सहकार्य अझ महत्वपूर्ण बन्दै गएको निष्कर्ष प्रस्तुत गरेका थिए ।