रामेछाप, जेठ ११ । उमाकुण्ड गाउँपालिकाले गाउँपालिकाका सबै वडालाई केन्द्रसँग जोड्ने मध्यमार्गी सडकलाई ‘गौरवको आयोजना’ का रूपमा अघि बढाएको छ । जिल्लाकै दुर्गम हिमाली क्षेत्रमा पर्ने गाउँपालिकाले ७ वटै वडालाई सहज पहुँचमा ल्याउने लक्ष्यसहित ७५ किलोमिटर लामो सडक स्तरोन्नतिको काम तीव्र बनाएको हो ।
गाउँपालिकाले सडकको ट्रयाक खोलिसकेपछि अहिले स्तरोन्नतिको कामलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । गाउँपालिकाका सवइञ्जिनियर गजेन्द्र कार्कीका अनुसार यस आर्थिक वर्षमा सडक सोलिङ, ढलान, कटिङ, नाला निर्माण तथा डस्ट राखेर पेल्ने काम भइरहेको छ ।
उहाँका अनुसार एरोन पिआर जेभीले २ करोड ५० लाख रुपैयाँको ठेक्कामा सडक स्तरोन्नतिको काम गरिरहेको छ । संघीय सरकार र स्थानीय तहकाे साझेदारी कार्यक्रमकाे समपुरक अनुदान कार्यक्रम अन्तर्गत साे काम भएकाे हाे । गाउँपालिकाको केन्द्रबाटै सडक सुधार अभियान सुरु गरिएको र वडा नं १ तथा वडा नं ७ तर्फ स्तरोन्नतिको काम जारी रहेको उहाँले जानकारी दिनुभयाे ।

सवइञ्जिनियर कार्कीका अनुसार निर्माण कम्पनीले कबोल गरेको काममध्ये ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न गरिसकेको छ भने बाँकी काम पनि चालु आर्थिक वर्षभित्रै सक्ने लक्ष्य राखिएको छ । उहाँले वडा नं ४, ५ र ३ मा बढी सुधारका काम भइरहेको जानकारी दिँदै सबै वडामा आवश्यक स्थानमा सडक सुधारलाई निरन्तरता दिइएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष शेरबहादुर सनुवारले उक्त सडकलाई गाउँपालिकाको ‘मेरुदण्ड’ का रूपमा लिइएको बताउनुभयो । उहाँका अनुसार सडक नहुँदा सर्वसाधारणलाई गाउँपालिकाको केन्द्रसम्म पुग्नै दिनभर लाग्ने अवस्था थियो । दुर्गम भौगोलिक अवस्थाका कारण यातायात पहुँच कठिन भएकाले सडकलाई प्राथमिकतामा राखेर गौरवको आयोजनाका रूपमा अघि बढाइएको उहाँले बताउनुभयो ।

यता गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले निर्माण भइरहेको सडकको स्थलगत अनुगमन तथा नापजाँचको काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं १ र २ मा सम्पन्न भएका कामहरूको स्थलगत अनुगमन तथा मापनको काम सम्पन्न गरिएको छ ।
स्थानीयवासीका अनुसार सडक स्तरोन्नतिसँगै गाउँपालिकामा यातायात पहुँच सहज बन्न थालेको छ । वर्षौंदेखि दुर्गम भूगोलका कारण सेवा लिन कठिनाइ भोग्दै आएका नागरिकले सडक निर्माणलाई विकाससँग प्रत्यक्ष जोडिएको परियोजनाका रूपमा लिएका छन् ।
गाउँपालिकाले सडकलाई केवल यातायातको माध्यम मात्र नभई शिक्षा, स्वास्थ्य, कृषि र स्थानीय आर्थिक गतिविधिसँग जोडिएको दीर्घकालीन पूर्वाधारका रूपमा अगाडि बढाएको जनाएको छ । दुर्गम हिमाली बस्तीलाई केन्द्रसँग जोड्ने यो सडक पूरा भएपछि स्थानीय जनजीवनमा उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्