रामेछाप, जेठ १५ । लिखु तामाकोसी गाउँपालिकाले समुदायमा अझै पनि बालविवाहको समस्या कायम रहेको निष्कर्षसहित विद्यालय तहबाटै सचेतना अभियान सुरु गरेको छ । बालबालिकालाई शिक्षा, सचेतना र कानुनी जानकारीमार्फत सक्षम बनाउँदै बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले गाउँपालिकाले विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरेको हो ।
गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा समुदाय परिचालन कार्यक्रम अन्तर्गत माध्यमिक तहका विद्यालयहरूमा ‘बालविवाह विरुद्ध सचेतना कक्षा’ सञ्चालन गरिएको गाउँपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कमला केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नं. ५ स्थित झटेश्वर माध्यमिक विद्यालय धोबी, वडा नं. ३ को वृखेश्वर माध्यमिक विद्यालय खोल्मागाउँ तथा वडा नं. ६ को माध्यमिक विद्यालय ज्यामिरे खानीमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा मानव अधिकारकर्मी नवराज पथिकले बाल अधिकार, बालबालिकामाथि हुने यौनजन्य हिंसा, त्यसबाट बच्ने उपाय, बालविवाहका असर तथा साइबर अपराध र त्यसबाट बच्ने उपायबारे सहजीकरण गर्नुभएको थियो ।
उहाँले बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक अवस्था र भविष्यमा दीर्घकालीन असर पार्ने भन्दै विद्यार्थीहरूलाई सचेत र आत्मनिर्णयमा सक्षम बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष केशव महतले विद्यार्थीहरूको पहिलो प्राथमिकता अध्ययन हुनुपर्नेमा जोड दिनुभयो । ‘विद्यार्थी जीवन सिक्ने र भविष्य बनाउने समय हो, हतारमा गरिने निर्णयले जीवनभर असर पार्न सक्छ,’ उहाँले भन्नुभयो, ‘तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सक्नुपर्छ ।’
वडा नं. ३ का वडाध्यक्ष गोपालराज तामाङले कम उमेरमै विवाह गर्दा जीवनमा अनेक समस्या आउने बताउनुभयो । ‘२० वर्षअघि विवाह गर्दा धेरैको जीवन नै बरबाद हुने अवस्था आउँछ,’ उहाँले भन्नुभयो, ‘पहिले शिक्षा, सीप र दक्षता हासिल गरेर आत्मनिर्भर बन्नुपर्छ ।’

त्यस्तै वडा नं. ६ का वडाध्यक्ष शिवप्रसाद न्यौपानेले कानुनले २० वर्षअघि गरिने विवाहलाई मान्यता नदिने भएकाले त्यसबाट जोडी नै समस्यामा पर्ने बताउनुभयो । ‘आफ्नो भविष्य आफैँले बनाउने हो, त्यसैले सचेत र जिम्मेवार बन्न आवश्यक छ,’ उहाँले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय धोबीका प्रहरी निरीक्षक सुजन लामाले बालविवाह कानुनी रूपमा दण्डनीय अपराध भएको भन्दै त्यस्तो कार्य नगर्न र देखेमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
गाउँपालिकाले विद्यालय तहबाटै सचेतना फैलाएर बालविवाहमुक्त समाज निर्माण गर्ने लक्ष्यका साथ आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्