रामेछाप, जेठ १६ । विकासका लागि सधैँ बजेट, ठेक्का र सरकारकै मुख ताक्नुपर्छ भन्ने मान्यता चिसापानीका बासिन्दाले गलत साबित गरिरहेका छन्। मन्थली नगरपालिका–८ चिसापानीमा यति बेला गाउँलेहरू आफ्नै हातले आफ्नो भविष्य निर्माण गरिरहेका छन्। अझ विशेष कुरा त के छ भने निर्माण स्थलमा नेतृत्व गर्ने व्यक्ति आदेश दिने ठाउँमा होइन, गाउँलेहरूसँगै मसला बोक्ने लाइनमा भेटिन्छन्।
शुक्रबार बिहान चिसापानीको ठुलो चौरमा कसैले सिमेन्ट र बालुवा मोल्दै थिए, कसैले पानी हालेर मसला तयार गर्दै थिए, कसैले बाल्टी र कराइमा मसला बोकेर प्याराफिट ढलानका लागि पुर्याइरहेका थिए। त्यही श्रमदानको लाममा वडाध्यक्ष गोपाल श्रेष्ठ पनि गाउँलेहरूसँगै पसिना बगाइरहनु भएकाे थियाे ।
गाउँमा निर्माणाधीन प्याराफिटसहितको भलिबल खेलमैदान अहिले केवल एउटा भौतिक संरचना निर्माणको काम मात्र होइन, सामूहिक एकता, श्रमको सम्मान र स्थानीय नेतृत्वको उदाहरण बनेको छ।
करिब १७ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त खेलमैदानका लागि वडा कार्यालयले झण्डै ८ लाख रुपैयाँ व्यवस्थापन गरेको छ। बाँकी रकम स्थानीयवासीको सहयोग, दाताहरूको योगदान र जनश्रमदानबाट जुटाइँदै छ। यही कारण यो आयोजना सरकारी योजना मात्रै नभई सम्पूर्ण गाउँको साझा सपना बनेको छ।
वडाध्यक्ष श्रेष्ठका अनुसार जिल्लामै प्याराफिटसहितको व्यवस्थित भलिबल खेलमैदानको अभाव रहेको महसुस भएपछि यो अभियान सुरु गरिएको हो। तर उहाँका लागि खेलमैदान निर्माणभन्दा पनि महत्वपूर्ण अर्को उद्देश्य छ-हराउँदै गएको श्रमदानको संस्कृतिलाई पुनर्जीवित गर्नु। ‘हामीले केवल खेल मैदान बनाइरहेका छैनौँ, हामी गाउँलाई फेरि एक ठाउँमा उभ्याइरहेका छौँ,’ श्रेष्ठ भन्नुहुन्छ, ‘जब विकासमा जनताको पसिना मिसिन्छ, त्यसप्रति अपनत्व पनि बढ्छ, त्यसैले यो अभियानले खेलकुद पूर्वाधारसँगै सामाजिक एकतालाई पनि मजबुत बनाइरहेको छ।’

वास्तवमा, चिसापानीको यो दृश्य अहिले धेरै गाउँका लागि सिकाइको विषय बनेको छ। विकासका काममा आलोचना र अपेक्षा धेरै हुने गर्छन्, तर यहाँ गाउँलेहरू आफैँ समाधान बनेर उभिएका छन्। कसैले श्रम दिएका छन्, कसैले आर्थिक सहयोग गरेका छन्, कसैले निर्माण सामग्री जुटाउन साथ दिएका छन्। सबैको योगदानले एउटा साझा लक्ष्यलाई आकार दिइरहेको छ।
गाउँका लागि केही गर्ने अवसर पाउँदा स्थानीय उत्साहित छन्। आज बोकिरहेको मसला भोलि खेल्ने पुस्ताका लागि आधार बन्ने उनीहरुकाे सपना छ ।
स्थानीयवासीहरूका अनुसार पछिल्ला वर्षहरूमा गाउँमा श्रमदानको परम्परा कमजोर बन्दै गएको थियो। तर खेलमैदान निर्माण अभियानले फेरि पुरानो सहकार्य र सामूहिक जिम्मेवारीको भावनालाई जागृत गराएको छ। विकास भनेको केवल पैसाले होइन, इच्छाशक्ति, एकता र श्रमले पनि सम्भव हुन्छ भन्ने सन्देश यस अभियानले दिएको छ।

निर्माण सम्पन्न भएपछि चिसापानीले जिल्लाकै नमुना भलिबल खेलमैदान पाउनेछ। तर त्योभन्दा ठुलो उपलब्धि गाउँलेहरूले पुनः स्थापित गरेको श्रम संस्कृति हुनेछ। किनकि भोलि यो मैदानमा खेलाडीहरू खेल्नेछन्, दर्शकहरू ताली बजाउनेछन्, तर त्यसका प्रत्येक संरचनामा गाउँलेहरूको पसिना, सपना र एकताको कथा पनि अंकित हुनेछ।
चिसापानीको यो अभियानले एउटा सन्देश दिएको छ-समुदाय एकजुट भए विकासका लागि असम्भव भन्ने केही हुँदैन। नेतृत्वले उदाहरण प्रस्तुत गरे जनता पछि लाग्छन्, र जनताले साथ दिए गाउँ आफैँ परिवर्तनको शक्ति बन्छ।













प्रतिक्रिया दिनुहोस्