जनता टाइम्स

१७ जेष्ठ २०८३, आईतवार १२:२४

खाँडादेवी पुग्न अब सहज हुने, ऐतिहासिक शक्तिपीठ जोड्ने सडक स्तरोन्नति सुरु


रामेछाप, जेठ १७। रामेछापको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक गन्तव्य खाँडादेवी मन्दिर पुग्ने सडक स्तरोन्नतिको काम सुरु भएको छ। सडक सुधारसँगै देश तथा विदेशबाट आउने श्रद्धालु र पर्यटकलाई मन्दिरसम्म पुग्न थप सहज हुने भएकाे छ।

वाग्मती प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत मन्थली–गाल्पा सडक खण्डको माकादुमदेखि खाँडादेवी मन्दिरसम्म जाने सडक स्तरोन्नति कार्य अघि बढाइएको हो। खाँडादेवी क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित सडक निर्माणको काम सुरु गरिएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले बताउनुभयो।

हाल अप्ठ्यारो मोड तथा जोखिमयुक्त स्थानहरूमा ढलान गर्ने काम भइरहेको छ। करिब तीन किलोमिटर लामाे सडक स्तरोन्नतिका लागि कुल ७७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा ३८ लाख ५० हजार रुपैयाँ खर्च हुने गरी काम अघि बढाइएको छ भने बाँकी रकम आगामी आर्थिक वर्षका लागि सुनिश्चित भइसकेको जनाइएको छ।

सडक स्तरोन्नति सम्पन्न भएपछि खाँडादेवी मन्दिरसम्मको यात्रा सुरक्षित, सहज र छिटो हुने विश्वास गरिएको छ। वर्षौंदेखि सडकको खराब अवस्थाका कारण दर्शनार्थी र पर्यटकले सास्ती खेप्दै आएका थिए।

खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षमा प्रदेश समपूरक योजना अन्तर्गत सडकको थप स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ प्रस्ताव गरेको छ। धार्मिक पर्यटनको विकास, स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक गतिविधि विस्तारलाई लक्षित गर्दै योजना अघि बढाइएको उहाँले बताउनुभयो।

खाँडादेवी मन्दिरलाई प्राचीन शक्तिपीठका रूपमा लिइन्छ। यो क्षेत्र किराँतकालीन सभ्यता तथा संस्कृतिसँग जोडिएको महत्वपूर्ण धार्मिक धरोहर हो। बडादशैँ, चैतेदशैँ लगायतका पर्वमा यहाँ हजारौं भक्तजनको भीड लाग्ने गर्दछ।  अन्य समयमा पनि वर्षभरि नै नियमित रूपमा दर्शनार्थीहरू आउने गरेका छन्।

विशेषगरी काठमाडौं उपत्यका, देशका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत श्रद्धालुहरू दर्शनका लागि यहाँ पुग्ने गरेका छन्।

बिपी राजमार्ग हुँदै सुनकोसीस्थित सित्खा र नेपालथोकको पुल पार गरेर खाँडादेवी पुग्न सकिन्छ। सित्खाबाट करिब एक घण्टाको यात्रामा मन्दिर पुग्न सकिन्छ भने रामेछाप सदरमुकाम मन्थलीबाट पनि करिब एक घण्टामै खाँडादेवी पुग्न सकिन्छ।

सडक स्तरोन्नतिको कामसँगै खाँडादेवी क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीय होटल तथा व्यापार व्यवसायको विस्तार, रोजगारी सिर्जना र समग्र स्थानीय अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ। सडक सहज बनेपछि खाँडादेवी केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई वाग्मती प्रदेशकै महत्वपूर्ण धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित हुने विश्वास गरिएको छ।