लिस्बन, पुस १ । पोर्चुगलमा एक साताभित्र तीन नेपालीले ज्यान गुमाएका छन। पोखरा स्थायी घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ । थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँ स–परिवार पोर्चुगल बस्दै आएका थिए ।
थापालाई मधुमेह र उक्त रक्तचापको समस्या रहेको परिवारले जनाएको छ । थापाको अन्तिम दाहसंस्कार पोर्चुगलमै गरिने एनआरएनए पोर्चुगलका सचिव यमेन्द्र घर्तीमगरले बताउनु भयो । यसैगरी डिसेम्बर ८ का दिन नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठकको निधन भएको छ भने गत मङ्गलबार करीब एक वर्षअघि पोर्चुगल आएका पोखराका २९ वर्षीय युवकको कोठामा मृत्यु भएको छ ।
ती पोखरेलीको नामसहितको विवरण प्राप्त भए पनि मृतकका परिवारको सल्लाहअनुसार सार्वजनिक नगर्न एनआरएनए पोर्चुगलले अनौपचारिक जानकारी गराएको छ । उनको शव जोजेजु आकिम फेर्नान्दिस अस्पताल बेजामा राखिएको छ । शव परीक्षण रिपोर्टमा अत्यधिक मद्यपानका कारण बान्ता गर्दा श्वासप्रश्वास नली बन्द भई अक्सिजनको कमी हुँदा मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै प्रवासी नेपाली एकता मञ्चका सदस्य नारायण शर्माले बताउनु भयो । मृतकको शव नेपाल पठाउनका लागि प्रक्रिया अगाडि बढाइएको एनआरएनएले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्