जनता टाइम्स

१९ जेष्ठ २०८३, मंगलवार १७:३८

मन्थलीको गर्मीबाट एक घण्टामै शीतल यात्रा : मनोकाङ्क्षा पूरा हुने विश्वास बोकेको ऐरम्बास शारदादेवी मन्दिर


रामेछाप, जेठ १९ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक किंवदन्ती र शान्त वातावरणको अद्भुत संगम हो– रामेछापको लिखु तामाकोसी गाउँपालिका–५ मा अवस्थित ऐरम्बास शारदादेवी मन्दिर। सदरमुकाम मन्थलीबाट करिब एक घण्टाको यात्रामै पुग्न सकिने यो धार्मिक स्थल अझै पनि पर्याप्त प्रचार–प्रसारको अभावमा धेरैको नजरबाट टाढा छ। तर एकपटक यहाँ पुग्ने जो कोहीलाई पनि फेरि–फेरि आउँ भन्ने अनुभूति दिलाउने सामर्थ्य यो स्थलसँग छ।

मन्थली बजारको गर्मी र भीडभाडबाट केही समय टाढा बसेर शान्त वातावरणमा प्रकृतिको आनन्द लिन चाहनेहरूका लागि ऐरम्बास शारदादेवी मन्दिर उत्कृष्ट गन्तव्य बन्न सक्छ। कठजोर-पाहुनघर हुँदै पुगिने यो स्थान हरियाली वन, चिसो हावा, रमणीय डाँडाकाँडा र धार्मिक आस्थाले भरिएको छ।

स्थानीयवासीका अनुसार ऐरम्बास शारदादेवीलाई मागेको कुरा पूरा गर्ने तथा भक्तजनको रक्षा गर्ने शक्तिशाली देवीका रूपमा श्रद्धापूर्वक पूजा गरिन्छ। यही विश्वासका कारण रामेछापका विभिन्न क्षेत्रसँगै काठमाडौं, सिन्धुली, दोलखा, ओखलढुंगा लगायत जिल्लाबाट समेत भक्तजन यहाँ दर्शनका लागि पुग्ने गरेका छन्।

स्थानीय वेदनाथ जोगीका अनुसार मन्दिरमा श्रद्धापूर्वक पूजा गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। उहाँका अनुसार देवीप्रतिको आस्था पुस्तौँदेखि कायम रहँदै आएको छ र टाढाटाढाबाट आउने भक्तजनको संख्या पनि उल्लेखनीय छ।

मन्दिर परिसरमा पुग्नेबित्तिकै धार्मिक वातावरणसँगै प्रकृतिको अनुपम सौन्दर्यले आगन्तुकलाई आकर्षित गर्छ। घना वनको बीचमा रहेको यो स्थान वर्षभरि नै चिसो र शान्त रहने भएकाले धार्मिक भ्रमणसँगै पारिवारिक वनभोज तथा छोटो पर्यटकीय यात्राका लागि समेत उपयुक्त मानिन्छ।

यहाँ पाठी र परेवा भोग चढाउने परम्परा रहिआएको छ। विशेष कुरा के छ भने मन्दिरमा चढाइएको प्रसाद घर लगेर खान मिल्दैन। भक्तजनले मन्दिर परिसरमै पकाएर खाने चलन रहेको छ। यसले धार्मिक आस्थासँगै सामूहिक भेटघाट र पारिवारिक जमघटको वातावरण पनि सिर्जना गर्ने गरेको छ।

मन्दिर आसपासका बासिन्दाले वर्षमा कम्तीमा एउटा पाठी चढाएर पूजा गर्ने परम्परा आज पनि निरन्तरता दिइरहेका छन्। विशेषगरी आइतबार, बुधबार र शनिबार भोग चढाउने प्रचलन रहेको छ। यी दिनहरूमा विभिन्न स्थानबाट भक्तजन पूजा तथा दर्शनका लागि आउने गरेका छन्।

मन्दिरका पुजारी यमबहादुर बुढाथोकीका अनुसार ऐतिहासिक रूपमा यो स्थान अत्यन्त पुरानो धार्मिकस्थल मानिन्छ। पहिले विशाल चाँपका रुखमुनि देवीको शिला रहेको भए पनि समयक्रममा ती रुख ढलेका थिए। पछिल्ला वर्षहरूमा मन्थली नगरपालिकाले मन्दिर परिसरमा दर्शनार्थीलाई बस्न, पकाउन र खान सहज होस् भन्ने उद्देश्यले दुईवटा सत्तल निर्माण गरिदिएको उहाँले जानकारी दिनुभयो। नगरपालिकाले मन्दिरकाे सुरक्षाकाे लागि चाैगाराे र बारकाे व्यवस्था समेत मिलाइदिएकाे छ ।

मन्दिरको अर्को आकर्षण भनेको परिसरमै रहेको सानो कुवा हो। स्थानीय विश्वासअनुसार त्यस कुवाबाट जति पानी निकाल्दा पनि नसकिने मान्यता छ। धार्मिक आस्थासँग जोडिएका यस्ता विशेषताले मन्दिरको महत्त्व अझ बढाएको छ।

प्रचलित किंवदन्तीले पनि यस स्थललाई अझ रोचक बनाएको छ। जनश्रुति अनुसार सिन्धुलीबाट ओखलढुंगातर्फ बेहुली लिएर गएका जन्तीहरू यस क्षेत्रमा रहेको चौर र पानीको स्रोतका कारण बास बसेका थिए। राति बेहुलीलाई बाघले लगेपछि ओखलढु‌ंगाकाे एसममा देवी प्रकट भई तीन महिनासम्म बस्नुभयाे । तर त्यहाँ आफ्नाे मान भाउ नपुगेपछि कसैकाे आङमा आएर आफूलाई बाघले बेहुली खाएकै स्थानमा स्थापना गर्न आग्रह गर्नुभएको र त्यसपछि ऐरम्बासमा देवीको स्थापना गरिएको विश्वास गरिन्छ।

यद्यपि यी कथाहरू जनविश्वास र किंवदन्तीमा आधारित छन्, तर यिनले मन्दिरको सांस्कृतिक तथा ऐतिहासिक महत्त्वलाई थप जीवन्त बनाएका छन्। स्थानीय समुदायले देवीलाई मनोकाङ्क्षा पूरा गरिदिने शक्तिका रूपमा मान्दै श्रद्धापूर्वक पूजा गर्ने परम्परा कायम राखेका छन्।

प्राकृतिक रूपमा अत्यन्त रमणीय, धार्मिक दृष्टिले महत्वपूर्ण र सांस्कृतिक रूपमा समृद्ध यो स्थल रामेछापकै सम्भावनायुक्त धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुन सक्ने देखिन्छ। सदरमुकाम मन्थलीबाट छोटो समयमै पुग्न सकिने, शान्त वातावरणमा समय बिताउन सकिने र धार्मिक आस्थासँग जोडिन सकिने भएकाले ऐरम्बास शारदादेवी मन्दिर आन्तरिक पर्यटनका लागि पनि उत्कृष्ट विकल्प बन्न सक्छ।

पर्याप्त प्रचार–प्रसार, थप पूर्वाधार विकास र व्यवस्थित व्यवस्थापन गर्न सके ऐरम्बास शारदादेवी मन्दिर केवल स्थानीय आस्थाको केन्द्र मात्र नभई रामेछाप भ्रमण गर्ने हरेक पर्यटकको ‘अवश्य पुग्नुपर्ने’ गन्तव्यका रूपमा स्थापित हुन सक्ने सम्भावना प्रबल देखिन्छ। यहाँको शीतल वातावरण, धार्मिक विश्वास र प्राकृतिक सुन्दरता अनुभव गरेपछि जो कोहीलाई पनि एकपटक अवश्य पुगौँ–पुगौँ लाग्नेछ।