जनता टाइम्स

२७ जेष्ठ २०८३, बुधबार २१:१४

 इतिहास बोकेको रामेछाप चिसापानीकाे भीमसेनथान प्रचार अभावमा ओझेलमा


रामेछाप, जेठ २७ । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरकाे जत्तिकै पुरानो इतिहास बोकेको मानिने रामेछापको मन्थली नगरपालिका–८ चिसापानीस्थित भीमसेनथान प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ। धार्मिक, ऐतिहासिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिने यो स्थलमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि अपेक्षाकृत पर्यटकको आकर्षण बढ्न सकेको छैन।

चिसापानीको नेवार गाउँमाथिको डाँडाको सिरानमा रहेको यो भीमसेनथानलाई पाण्डवले बास बसेको स्थानका रूपमा स्थानीयले विश्वास गर्दै आएका छन्। स्थानीयका अनुसार पूर्वतर्फ जाने क्रममा भीम लगायतकाे टाेली रामेछापको रजगाउँस्थित भीमसेनथानबाट चिसापानीको भीमसेनथान हुँदै दोलखाको भीमेश्वर मन्दिर पुगेको भन्ने पुरानो कहावत प्रचलित छ।

धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यले समेत भरिपूर्ण यो स्थल दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्यका रूपमा स्थापित  हुन सक्छ । डाँडाको टुप्पोमा अवस्थित भीमसेनथानबाट रामेछापको सदरमुकाम मन्थली, तामाकोसी नदीको मनोरम दृश्य, वरपरका डाँडाकाँडा, बस्ती तथा मौसम अनुकूल हुँदा विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ। शान्त वातावरणमा बसेर चारैतिरको प्राकृतिक छटा नियाल्नु यहाँ पुग्नेहरूका लागि अविस्मरणीय अनुभव बन्न सक्छ।

मन्थली बजारबाट करिब एक घण्टाको पैदल यात्रामा पुग्न सकिने यो स्थलसम्म पुग्न पक्की सडकको सुविधा पनि उपलब्ध छ। पैदल यात्रा रुचाउनेहरूका लागि मन्थलीको गाईखुरादेखि भीमसेनथानसम्म पदमार्ग निर्माण गरिएको छ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वाग्मती प्रदेश सरकारले गाईखुरादेखि भीमसेनथानसम्म पुग्ने पदमार्गमा सिँढी निर्माण गरेको छ। यसका साथै भीमसेनथान परिसरमा सिँढी, मन्दिर तथा सत्तल निर्माण गरी पूर्वाधार विकासको कामसमेत गरिएको छ।

मन्थली बजार नजिकै रहेको यस स्थललाई मर्निङ वाक गर्नेहरूका लागि आकर्षक गन्तव्य बनाउन सकिने देखिन्छ। साथै, सदरमुकाम पुगेका आन्तरिक पर्यटक तथा धार्मिक आस्था राख्ने भक्तजनका लागि छोटो दूरीको उपयुक्त भ्रमणस्थल बन्ने सम्भावना पनि उत्तिकै छ।

तर, भौतिक पूर्वाधार निर्माण भएर स्थल व्यवस्थित बन्दै गए पनि आवश्यक प्रचार–प्रसारको अभावमा यो ऐतिहासिक तथा धार्मिक सम्पदा सुनसानजस्तै बनेको छ। स्थानीयवासीका अनुसार भीमसेनथानको ऐतिहासिक महत्व, धार्मिक विश्वास र प्राकृतिक सौन्दर्यलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके यसले रामेछापको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

इतिहास, आस्था र प्रकृतिको त्रिवेणी बोकेको चिसापानीको भीमसेनथान अहिले उचित पहिचानको पर्खाइमा छ। सम्बन्धित निकायले यसको प्रचारप्रसारमा ध्यान दिने हो भने यो स्थल रामेछापको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने स्थानीयको विश्वास छ।