जनता टाइम्स

२ पुष २०७६, बुधबार ०९:०६

पूर्वराष्ट्रपति मृत्युदण्ड दिने अदालतको फैसलाप्रति पाकिस्तानी सेनाले निकाल्यो यस्तो विज्ञप्ती


काठमाडौं, पुस २ । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्ड दिने अदालतको फैसलाप्रति त्यहाँको सेनाले असन्तुष्टि जनाएको छ।

पाकिस्तानी सेनाका प्रवक्ताले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मुशर्रफलाई मृत्युदण्ड दिने अदालतको फैसलाले आफूहरुलाई दुःखी बनाएको उल्लेख गरेका छन्।पाकिस्तानको इस्लामावादस्थित विशेष अदालतले देशद्रोहको अभियोगमा मंगलबार पूर्व राष्ट्रपति जनरल मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको थियो। तर, सेनाले भने देशको रक्षाका लागि युद्ध लडेका मुशर्रफ कहिल्यै पनि देशद्रोही हुन नसक्ने बताएको छ। आफ्नो प्रतिरक्षा गर्न पाउने आधारभूत अधिकारको समेत अदालतले बेवास्ता गरेको सेनाले आरोप लगाएको छ। ‘पाकिस्तानको संविधानअनुसार न्याय हुनेछ भन्ने पाकिस्तानी सेनाको अपेक्षा छ,’ सेनाको विज्ञप्तिमा भनिएको छ।