रामेछाप, जेठ ३१। उमाकुण्ड गाउँपालिकाले एमभी दगुर ग्रुपद्वारा लिखु नदीमा सञ्चालित जलविद्युत आयोजनाबाट प्रभावित स्थानीय नागरिकका माग तत्काल सम्बोधन गर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ।
गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारद्वारा जारी विज्ञप्तिमा रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको सीमाबाट बग्ने लिखु नदीमा निर्माण भएका लिखु–१, लिखु–२ र लिखु–ए जलविद्युत आयोजनाबाट प्रभावित नागरिकहरूले आफ्ना माग राख्दै सञ्चालन गरेको आन्दोलन निरन्तर जारी रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार विगतमा गाउँपालिका, आयोजना पक्ष तथा प्रभावित नागरिकका प्रतिनिधिबिच भएका वार्ता र छलफलबाट केही विषयमा सहमति कायम भए पनि ती सहमति कार्यान्वयनमा आयोजना पक्षले आवश्यक तत्परता नदेखाउँदा समय–समयमा समस्या दोहोरिने गरेको छ।
गाउँपालिकाले स्थानीय प्रभावित नागरिकलाई वितरण गर्नुपर्ने प्राथमिक शेयर, आयोजनाको सञ्चालनबाट परेको वातावरणीय प्रभाव तथा त्यसको न्यूनीकरणका लागि सञ्चालन गरिएका गतिविधि, सामाजिक उत्तरदायित्वअन्तर्गत विनियोजित बजेट र खर्च विवरणलगायतका विषयमा पटक–पटक जानकारी माग गरे पनि आवश्यक विवरण प्राप्त हुन नसकेको जनाएको छ। यसका कारण प्रभावित नागरिकहरूले उठाएका कतिपय विषयमा गाउँपालिका स्वयं जवाफविहीन बन्नुपरेको विज्ञप्तिमा उल्लेख छ।
उमाकुण्ड गाउँपालिकाभित्र अन्य थुप्रै जलविद्युत आयोजना पनि सञ्चालनमा रहेको उल्लेख गर्दै गाउँपालिकाले ती आयोजनाबाट स्थानीय प्रभावित नागरिकलाई नियमानुसार वितरण गरिनुपर्ने शेयरले नागरिकको जीवनस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको जनाएको छ। तर, कतिपय आयोजनाले स्थानीय प्रभावित नागरिकको हित विपरीत शेयर वितरणमा ढिलाइ गर्ने तथा प्रिमियम मूल्यमा शेयर वितरण गर्ने जस्ता कार्य गरिरहेको समाचार सार्वजनिक भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
गाउँपालिकाले आन्दोलनरत प्रभावित नागरिकसँग तत्काल संवाद गरी उनीहरूले उठाएका मागको सम्बोधन गर्न सम्बन्धित पक्षसँग हार्दिक अनुरोध गरेको छ। साथै, सञ्चालनमा रहेका अन्य जलविद्युत आयोजनाहरूलाई समेत भविष्यमा यस्ता आन्दोलन र विरोधका कार्यक्रम हुन नदिन प्रभावित क्षेत्रप्रतिको दायित्व समयमै पूरा गर्न सचेत गराएको छ। ‘प्रभावित क्षेत्रमा गर्नुपर्ने काम तथा प्रभावित नागरिकप्रतिको दायित्व समयमै पूरा गरी स्थानीय समुदायसँगको सम्बन्ध सुदृढ बनाउन सबै आयोजनाले विशेष ध्यान दिन आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले हस्ताक्षर गर्नुभएको उक्त विज्ञप्तिमा स्थानीय समुदायका जायज मागप्रति संवेदनशील हुन र वार्तामार्फत समस्याको समाधान खोज्न सबै पक्षलाई आग्रह गरिएको छ।













प्रतिक्रिया दिनुहोस्