रामेछाप, जेठ ३१ । जिल्लाको उत्तरी भेगमा अवस्थित उमाकुण्ड गाउँपालिका भौगोलिक रूपमा रामेछापकै सबैभन्दा दुर्गम स्थानीय तहमध्ये एक मानिन्छ। हिमाली क्षेत्रसँग जोडिएको जिल्लाको एक मात्र गाउँपालिकाका रूपमा परिचित उमाकुण्डमा बाह्रै महिना सहज यातायात सञ्चालन गर्नु अहिले पनि चुनौतीपूर्ण बनेको छ।
लेकाली भूगोल, बारम्बार हुने पहिरो र सडक बग्ने समस्याका बीच गाउँपालिकाले आन्तरिक सडक सञ्जाललाई व्यवस्थित बनाउन निरन्तर प्रयास गरिरहेको छ। गाउँपालिकाले वडा नं. ७ देखि वडा नं. १ सम्म जोड्ने मध्यमार्गी सडकलाई गौरवको योजनाका रूपमा सञ्चालन गरिरहेको छ। सो सडकको ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको भए पनि स्तरोन्नतिको काम भने अझै जारी रहेको गाउँपालिकाले जनाएको छ।
उमाकुण्डको सडक पूर्वाधार विकासमा सबैभन्दा ठूलो चुनौतीका रूपमा भुजीस्थित सारी पहिरो रहेको छ। जिल्लाकै ठूलो पहिरोमध्ये एक मानिने उक्त पहिरोका कारण वर्षायाममा सडक सञ्चालन प्रभावित हुने गरेको छ। पहिरोले यातायात सेवा नियमित सञ्चालनमा अवराेध मात्र गरेकाे छैन, गाउँलाई नै अन्य गाउँसँग सम्पर्क टुटाइदिने गरेकाे छ । यसैलाई ध्यानमा राखि अहिले साे पहिराे कट्न झाेलुङ्गे पुल बनाइएकाे छ ।
यसका साथै, लेकाली भूगोल भएका कारण ठाउँ–ठाउँमा सडक भत्किने, बग्ने र खाल्डाखुल्डी हुने समस्या दोहोरिने गरेको छ। पानी परेपछि सडकको अवस्था झनै जटिल बन्ने भएकाले नियमित मर्मतसम्भार अपरिहार्य बन्दै गएको छ।
यही अवस्थालाई मध्यनजर गर्दै उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार स्वयं सडक मर्मत अभियानमा सक्रिय रूपमा जुट्नुभएको छ। पालिकाका स्रोत–साधनको प्रयोग गर्दै उहाँले बिदाको दिनसमेत सडक सुधारलाई प्राथमिकता दिनुभएको छ।
शनिबार अध्यक्ष सुनुवार पालिकाको डोजर लिएर भुजीस्थित सारी पहिरो क्षेत्रमा पुग्नुभएको थियो। सडक सरसफाइ तथा मर्मतको कामको प्रत्यक्ष नेतृत्व गर्दै उहाँले यातायात सञ्चालनलाई सहज बनाउने प्रयास गर्नुभएको हो।
अध्यक्ष सुनुवारले दुर्गम भूगोलका कारण सडक पूर्वाधारलाई टिकाउ बनाउन कठिनाइ हुने भए पनि स्थानीयवासीलाई वर्षभरि यातायात सुविधा उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको बताउनुभयाे। उहाँले पालिकाको सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै सडकलाई सञ्चालनयोग्य अवस्थामा राख्न निरन्तर प्रयास जारी रहेकाे बताउनुभयाे ।
स्थानीयवासीका अनुसार अध्यक्ष स्वयं डोजरसहित सडक मर्मतमा खटिनुले जनप्रतिनिधिको जिम्मेवारीप्रतिको प्रतिबद्धता देखिएको छ। दुर्गम क्षेत्रका नागरिकले भोग्दै आएको यातायात समस्यालाई समाधान गर्न स्थानीय सरकार सक्रिय बनेको उनीहरूको भनाइ छ।
उमाकुण्ड गाउँपालिका प्राकृतिक रूपमा विकट भए पनि सडक पूर्वाधार विस्तार र स्तरोन्नतिको प्रयासलाई तीव्रता दिइरहेको छ। विशेषगरी वडा नं. ७ देखि वडा नं. १ सम्म जोड्ने मध्यमार्गी सडक सम्पन्न हुन सकेमा गाउँपालिकाभित्रको आवागमनमा उल्लेख्य सुधार आउने विश्वास गरिएको छ। चुनौतीबीच पनि स्थानीय सरकार सडक सुधार र नागरिकलाई आधारभूत यातायात सुविधा उपलब्ध गराउने अभियानमा निरन्तर लागिरहेको देखिन्छ।













प्रतिक्रिया दिनुहोस्