जनता टाइम्स

३१ जेष्ठ २०८३, आईतवार १५:०६

टेम्पो भीरबाट खसालेकाे घटनामा वन कार्यालयको स्पष्टीकरण : चालु सवारी होइन, अतिक्रमणका लागि प्रयोग गरिएको कवाडी संरचना थियो


काठमाडौं, जेठ ३१ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे चुरे क्षेत्रमा टेम्पो भीरबाट खसालिएको घटनाबारे व्यापक आलोचना भएपछि डिभिजन वन कार्यालय कैलालीले आफ्नो धारणा सार्वजनिक गरेको छ। वन कार्यालयले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीलाई ‘अफवाह’ को संज्ञा दिँदै भीरबाट खसालेको टेम्पो चालु अवस्थामा रहेको सवारी साधन नभई वन अतिक्रमणका लागि प्रयोग गरिएको कवाडी संरचना रहेको दाबी गरेको छ।

डिभिजन वन कार्यालय कैलालीले शनिबार जारी गरेको विज्ञप्तिमा गोदावरी सामुदायिक वनअन्तर्गत पर्ने गाईमारे चुरे क्षेत्र अत्यन्त संवेदनशील र कमजोर पर्यावरणीय प्रणाली भएको उल्लेख गर्दै सो क्षेत्रमा लामो समयदेखि सार्वजनिक वन क्षेत्र अतिक्रमण गर्ने गतिविधि हुँदै आएको जनाएको छ । वन कार्यालयका अनुसार सडक किनारको सार्वजनिक वन क्षेत्रलाई गैरकानुनी रूपमा भागबण्डा गरी भित्री रूपमा बेचबिखन गर्ने तथा खोका–छाप्रा निर्माण गरी सरकारी वन जमिन कब्जा गर्ने क्रम बढेपछि समय–समयमा अतिक्रमण हटाउने अभियान सञ्चालन गरिँदै आएको थियो।

विज्ञप्तिमा सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो उक्त टेम्पो गुड्ने वा चालु अवस्थामा नरहेको दाबी गरिएको छ। कार्यालयले ‘चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको तथा धकेलेर सार्न समेत गाह्रो हुने फलामे अस्थिपञ्जर मात्र रहेको’ टेम्पोलाई वन क्षेत्र अतिक्रमण गरी पसलको टहराका रूपमा प्रयोग गरिएको जनाएको छ।

वन कार्यालयका अनुसार विगत पाँच महिनाअघि सो क्षेत्रमा पुनः अवैध संरचनाहरू निर्माण गरिएका थिए। त्यस क्रममा एक महिनाअघि नै सम्बन्धित पक्षलाई संरचना हटाउन निर्देशन दिइएको र सँगै रहेका अन्य १० वटा छाप्रा हटाइए पनि उक्त टेम्पो हटाउन अटेर गरिएको दाबी गरिएको छ।

कार्यालयले टेम्पोका सञ्चालक घनश्याम धामीलाई यसअघि वन कर्मचारीले उक्त टेम्पोलाई धकेलेर घरसम्म पुर्‍याइदिएको तर पुनः सोही स्थानमा ल्याएर पसल सञ्चालन गरिएको उल्लेख गरेको छ। पछिल्लोपटक पनि हटाउन आग्रह गर्दा सम्बन्धित व्यक्तिले ‘टेम्पो नहटाउने, जे गरे पनि गर्नुस्’ भन्दै गालीगलौज गरेको दाबी वन कार्यालयको छ। जेठ २९ गते अतिक्रमण हटाउने अभियान सञ्चालन भइरहेका बेला वन टोलीले उक्त टेम्पोलाई पन्छाउने प्रयास गरेको र सोही क्रममा भिरालो भौगोलिक सतह तथा असन्तुलनका कारण टेम्पो दुर्घटनावश भीरबाट खस्न पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

वन कार्यालयले घटनालाई लिएर भइरहेको प्रचारप्रसारलाई अतिरञ्जित र भ्रामक भएको दाबी गर्दै कानुनबमोजिम गरिएको संरक्षण कार्यलाई गलत रूपमा नबुझिदिन गरेको छ।

यसअघि गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीले उक्त टेम्पो आफ्नो परिवारको जीविकोपार्जनको मुख्य आधार रहेको र वन कार्यालयको टोलीले सामान झारेपछि आफूहरूले गाडी लैजान्छौँ भन्दा पनि नसुनी भीरतर्फ खसालिदिएको आरोप लगाउनुभएको थियो। घटनापछि टेम्पोमा ठूलो क्षति पुगेको र परिवारको आयआर्जनको स्रोत बन्द भएको उहाँको भनाइ छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीयवासीले कानुन कार्यान्वयनका क्रममा मानवीय संवेदनशीलता अपनाउनुपर्ने बताएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले पनि घटनाबारे छानबिन सुरु गरिसकेको जनाएको छ।

टेम्पो भीरबाट खसेको घटनामा पीडित पक्ष र वन कार्यालयबीच फरक–फरक दाबी सार्वजनिक भइरहेका बेला छानबिनको निष्कर्षले घटनाको वास्तविकता उजागर गर्ने अपेक्षा गरिएको छ। तथावि भिरबाट टेम्पाे खसाउने कुरालाई कुनै पनि अर्थमा मानवि काम भन्न सकिँदैन ।