जनता टाइम्स

२ पुष २०७६, बुधबार १२:२८

सेनाको शिविरमा पाँच किलो ट्युमरको शल्यक्रिया


महोत्तरी, पुस २

महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ स्थित खखना माविमा नेपाली सेनाले सञ्चालन गरेको १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत मङ्गलबार एक महिलाको पाँच किलोको ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । जिल्लाको सोनमा गाउँपालिका–३ बस्ने ६२ वर्षीया कोशीदेवीको पाठेघरको शल्यक्रिया गर्दा त्यसभित्र रहेको ४.९ किलोको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरिएको जिल्लामा अवस्थित रणभीम गणका गणपति विदुर अधिकारीले बताउनुभयो ।

खखना माविमा बिरामी पहिचान गरी जिल्ला अस्पताल जलेश्वरमा शल्यक्रियाका लागि आएकी ती महिलालाई नेपाली सेनाको आर्मी अस्पताल काठमाडौँबाट आएको सर्जनसहितको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरी ट्युमर निकालेको हो । नेपाली सेनाको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा अहिलेसम्म ९५ जनाको शल्यक्रिया गरिसकिएको जनाइएको छ ।