रामेछाप, असार ५ । रामेछापको हात्तीढुंगा–आहालडाँडा उचित पूर्वाधार विकासको पर्खाइमा रहेको सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा देखिएको छ। लिखु तामाकोसी गाउँपालिका–२ सुपैको सिरानमा अवस्थित यो रमणीय डाँडाबाट सगरमाथा, नुम्बुर हिमाल लगायतका हिमशृङ्खलादेखि तराईसम्मको मनमोहक दृश्य एकैसाथ अवलोकन गर्न सकिने भएकाले यसलाई जिल्लाको नयाँ पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने स्थानीयहरूको विश्वास छ।
स्थानीयका अनुसार दिलौरी डाँडादेखि आहालडाँडा हुँदै हात्तीढुंगासम्म व्यवस्थित सिँढी, पदमार्ग र अन्य आवश्यक पूर्वाधार निर्माण गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्नेछ। स्थानीय शम्भु तामाङले प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रलाई व्यवस्थित गर्न सके रामेछापकै प्रमुख पर्यटकीय स्थलका रूपमा स्थापित गर्न सकिने बताउनुभयो।
स्थानीय रामचन्द्र थापाका अनुसार यस स्थानबाट देखिने हिमाली दृश्य, हरियाली वन, पहाडी बस्ती र तराईसम्म फैलिएको भू–दृश्यले पर्यटकलाई लोभ्याउने क्षमता राख्छ। उहाँले यस क्षेत्रलाई पिकनिक स्पोटमा मात्र सीमित नराखी हिन्दु तथा बौद्ध धर्मावलम्बीका लागि धार्मिक तथा दृश्यावलोकन केन्द्रका रूपमा समेत विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

यस सम्भावनालाई मूर्त रूप दिन वडा कार्यालयले प्रारम्भिक पूर्वाधार निर्माणको काम सुरु गरिसकेको छ। वडा अध्यक्ष सन्तोष पौडेलका अनुसार गत वर्ष वाग्मती प्रदेश सरकारको बजेटबाट शौचालय तथा ट्रष्ट भवन निर्माण गरिएको छ। पिकनिक स्पोट विस्तारका लागि स्थानीयवासीले निःशुल्क रूपमा जग्गा उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो।
वडा कार्यालयले पिकनिक स्पोटसँगै खेल मैदान निर्माण गर्ने योजना पनि अघि सारेको छ। “यस क्षेत्रको समग्र विकासका लागि हामीले दीर्घकालीन योजना बनाएका छौँ। त्यसलाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक छ,” वडा अध्यक्ष पौडेलले बताउनुभयो।
उचाइमा रहेको यो क्षेत्र वर्षभरि नै चिसो र शान्त वातावरणका कारण पारिवारिक घुमघाम, वनभोज तथा प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त मानिन्छ। पछिल्लो समय विभिन्न स्थानबाट आन्तरिक पर्यटक पिकनिकका लागि यहाँ पुग्न थालेका छन्।
आहालडाँडा–हात्तीढुंगामा पहुँच मार्ग, पदमार्ग, विश्रामस्थल, खानेपानी र सूचना केन्द्रजस्ता पूर्वाधार थप गर्न सकिए रामेछापको पर्यटनमा नयाँ आयाम थपिनेछ। यसले स्थानीय होटल, कृषि उत्पादन, हस्तकला तथा अन्य साना व्यवसायलाई समेत प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ।
विशेषगरी गर्मीयाममा जिल्ला सदरमुकाम मन्थली लगायत आसपासका क्षेत्रका बासिन्दाका लागि चिसो हावापानी र मनोरम दृश्यको आनन्द लिन यो स्थान उत्कृष्ट गन्तव्य बन्न सक्ने देखिन्छ। स्थानीय सरकार, प्रदेश सरकार र पर्यटनसँग सम्बन्धित निकायले आवश्यक लगानी र योजनाबद्ध विकासमा ध्यान दिए हात्तीढुंगा–आहालडाँडा निकट भविष्यमै रामेछापको चिनारी बन्न सक्ने पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने छ।













प्रतिक्रिया दिनुहोस्