जनता टाइम्स

११ असार २०८३, बिहीबार १४:२१

उमाकुण्डमा जातीय भेदभाव तथा छुवाछूतविरुद्ध कानुनी सचेतना अभियान


 रामेछाप, असार ११ । ‘भेदभाव होइन व्यवहारमा समानता : छुवाछूत होइन समानतामा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित उमाकुण्ड गाउँपालिकामा जातीय भेदभाव तथा छुवाछूतविरुद्ध वडा स्तरीय कानुनी सचेतना कार्यक्रम सुरु गरिएको छ।

उमाकुण्ड गाउँपालिकाको आयोजना तथा प्रहार मिडिया प्रालि, मन्थली रामेछापको सहजीकरणमा सञ्चालन गरिएको कार्यक्रमको सुरुवात बुधबार गाउँपालिका–४ बाट गरिएको हो। कार्यक्रममार्फत जातीय भेदभाव तथा छुवाछूतविरुद्ध कानुनी सचेतना अभिवृद्धि गर्दै सामाजिक सद्भाव र समानताको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रमअनुसार असार १२ गते वडा नम्बर ५, असार १३ गते वडा नम्बर ३, असार १४ गते वडा नम्बर २, असार १५ गते वडा नम्बर १, असार १६ गते वडा नम्बर ६ तथा असार १७ गते वडा नम्बर ७ मा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रममा प्रशिक्षक अधिवक्ता प्रकाश धौलाकोटीले जातीय भेदभाव तथा छुवाछूतका कानुनी पक्ष, दलित समुदायले भोग्दै आएका विभेदका स्वरूप र त्यसको समाधानका उपायबारे सहभागीलाई जानकारी गराउनुभयो। उहाँले संविधान र प्रचलित कानुनले सबै नागरिकलाई समान अधिकार प्रदान गरेको उल्लेख गर्दै कुनै पनि प्रकारको जातीय विभेद दण्डनीय अपराध भएको बताउनुभयो।

कार्यक्रममा सहभागी अतिथिहरूले जातीय विभेदमुक्त समाज निर्माणका लागि आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागीहरूले दलित सशक्तीकरण, सामाजिक एकता तथा जातीय भेदभाव र छुवाछूत अन्त्यका लागि सामुदायिक साझा प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका थिए।

वडा नम्बर ४ मा सम्पन्न कार्यक्रममा उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत ङावा शेर्पा, वडा नम्बर ४ का वडाध्यक्ष मानबहादुर सुनुवार, गाउँपालिकाका विभिन्न विषयगत शाखाका कर्मचारी, श्री चण्डेश्वरी माध्यमिक विद्यालयका शिक्षक, कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा दलित र गैरदलित समुदायका सर्वसाधारणको सहभागिता रहेको थियो।

गाउँपालिकाले सञ्चालन गरेको यो अभियानले जातीय विभेद र छुवाछूतविरुद्ध कानुनी तथा सामाजिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।