जनता टाइम्स

३ पुष २०७६, बिहीबार १५:३७

बालिका बलात्कृत प्रकरणमा दुई चिकित्सक जेल चलान, अदालतले गर्यो यस्तो ठहर


धनुषा, पुस ३ । जनकपुर अञ्चल अस्पतालमा कार्यरत तात्कालिन दुई चिकित्सकलाई अदालतले दोषी ठहर गरी जेल सजायँ तोकेको छ । विशेष अदालत काठमाडौंले उनीहरुलाई दोषी ठहर गरेको हो । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न ब्यक्तिको गलत स्वास्थ्य प्रतिवेदन बनाएको पुष्टि भएपछि डा.विजयकुमार सिंह र डा.रम्भा गोइतलाई दोषी ठहर गर्दै जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको हो ।

विशेष अदालत काठमाडौंका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले दुवै चिकित्सकलाइृ दोषी ठहर गर्दै कैद सहित जरिवानाको निर्णय गरेको हो । तत्कालीन जनकपुर अञ्चल अस्पताल हालको प्रदेश अस्पतालमा कार्यरत रहेका चिकित्सक सिंह र गोइतले अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । चिकित्सकद्वयले धनुषाकी १२ वर्षीया बालिका बलात्कृत नभएको भनी गलत प्रतिवेदन दिएका थिए । डा.सिंह र डा.गोइतलाई न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै उनीहरुको व्यावसायिक प्रमाणपत्र समेत निलम्बन गरिएको थियो ।

घटनाबारे अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले उनीहरुलाई चिकित्सकीय अभ्यासबाट समेत वञ्चित गर्ने निर्णय गरेको थियो । डा.सिंहको मेडिकल काउन्सिलमा दर्ता नम्बर ३१५५ र डा.गोइतको दर्ता नम्बर १०२०६ रहेको छ । २०७५ भदौ ८ गते धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ कि बलात्कृत बालिकाको नमुना परीक्षणपछि बलात्कार नभएको प्रतिवेदन उनीहरुले दिएका थिए ।

अपराधीलाई जोगाउन उनीहरुले गलत प्रतिवेदन तयार पारिदिएको अध्ययनमा पाइएको थियो । जनकपुरधाम र सिरहामा बालिकाको नमूना परीक्षणको फरक–फरक प्रतिवेदन आएपछि मेडिकल काउन्सिलले डा. कालुसिंह खत्रीको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो । धनुषाको जनकनन्दनी गाउँपालिकामा काकीसँग बस्दै आएकी १२ वर्षीया बालिकालाई २०७५ भदौमा घरमा सुतिरहेका बेला २३ वर्षीय किरण खत्वेले बलात्कार गरेका थिए । आमाको मृत्यु भएको र बुबा रोजगारीका लागि विदेशमा रहेकाले उनी काकीसँगै बस्दै आएकी थिइन् । तर ती बालिकासँग घटनापछि बालिकालाई स्वास्थ्य परीक्षणको लागि इलाका प्रहरी कार्यालय खजुरीले भदौँ ९ गते तत्कालिन जनकपुर अञ्चल अस्पताल लगेको थियो ।

अञ्चल अस्पतालले ११ दिनपछि दिएको उक्त रिपोर्टमा स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकद्वय गोइत र सिंहले बालिकालाई स्वास्थ्य परीक्षणमा भेजिना नर्मल र ह्युमेन नर्मल उल्लेख गरेको प्रतिवेदन बुझाएको थियो । पीडित परिवारले तत्कालिन जनकपुर अञ्चल अस्पतालको उक्त प्रतिवेदनमाथि चित्त नबुझेपछि गत भदौ २५ गते जिल्ला अस्पताल सिरहामा बालिकाको पुनः स्वास्थ्य परीक्षण गराएका थिए ।

डा.राकेशकुमार सिंहले गरेको स्वास्थ्य जाँचमा पीडित बालिकाको गाला र ओठमा ‘बाइट मार्क’ (गाला र ओठ टोकिएको), ‘भेजाइना कन्जेसन’ (योनीमा चोट) र ‘हाइमेन रप्चर्ड’(योनीको झिल्ली च्यातिएको) देखिएको थियो । बलात्कारको घटनापश्चात भारत भागेका आरोपित खत्वेलाई पैसा लिन घर फर्केको बेला प्रहरीले गत भदौं ९ गते पक्राउ गरेको थियो । अभियुक्त खत्वेले प्रहरीसँगको बयानमा आफूले अपराध गरेको स्वीकारेका छन् ।