जनता टाइम्स

१६ असार २०८३, मंगलवार २०:२४

पशुपति क्षेत्रमा गरगहना लुट्ने गरेको आरोपमा दुई भारतीय पक्राउ


काठमाडौं,  असार  १६ । पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका दर्शनार्थीका गरगहना लुटपाट गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

भारतको गोरखपुर घर भई हाल भक्तपुरमा बस्दै आएका रञ्जित चौधरी र शान्ति चमारलाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरी वृत्त, गौशालाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो । उनीहरूबाट सुनको सिक्री, झुम्का, मुन्द्रा, मंगलसुत्र, चाँदीका औँठी, पाउजु, सिक्री, ब्रासलेट, लकेटलगायतका गरगहना बरादम गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, प्रहरीले नेपाली रुपैयाँ एक लाख १५ हजार पाँच सय र भारतीय रुपैयाँ ८० हजार बरादम गरेको छ। दुवै जनालाई नियन्त्रणमा लिएर चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।