जनता टाइम्स

२२ असार २०८३, सोमबार २०:५२

युवतीलाई गोप्य अंग देखाउने शिक्षा मन्त्रालयका अधिकृत पक्राउ, बयानमा भने– ‘मति बिग्रियो’


काठमाडौं, २२ असार । सार्वजनिक स्थानमा एक युवतीलाई गोप्य अंग प्रदर्शन गरेको आरोपमा पक्राउ परेका शिक्षा मन्त्रालयका अधिकृत सुरेन्द्र भट्टले क्षणिक आवेग र उत्तेजनाका कारण उक्त घटना भएको बयान दिएका छन्।

बैतडीको पाटन नगरपालिका निवासी ५५ वर्षीय भट्टलाई सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा प्रहरीले सोमबार ललितपुरको महालक्ष्मी नगरपालिका–२, इमाडोलबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार आइतबार बिहान इमाडोल क्षेत्रमा हिँडिरहेकी एक युवतीलाई भट्टले गोप्य अंग प्रदर्शन गरेका थिए। घटनाको भिडियो युवतीले मोबाइलमा कैद गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि प्रहरीले उनको खोजी थालेको थियो।

ललितपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा भट्टले आफ्नो व्यवहारप्रति पश्चाताप व्यक्त गर्दै बयानमा म क्षणिक आवेग र उत्तेजनामा आएँ, मेरो मति बिग्रियो, भनेका छन्। घटनालगत्तै उनले पीडित युवतीसँग माफीसमेत मागेको खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा प्रहरीले भट्टको मानसिक अवस्थाबारे चिकित्सकसँग परामर्श गरेको थियो। प्रारम्भिक मूल्याङ्कनमा उनको मानसिक अवस्था सामान्य रहेको देखिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार भट्ट शिक्षा मन्त्रालयमा अधिकृतका रूपमा कार्यरत छन् र विभिन्न सरकारी कार्यक्रमका सिलसिलामा देशका विभिन्न जिल्लामा जाने गरेका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।