जनता टाइम्स

२६ असार २०८३, शुक्रबार २३:५४

गणेश नेपालीको परिवारलाई रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने महानगरको घोषणा


काठमाडौं, असार २६ । काठमाडौं महानगरपालिकाले राहदानी विभागअगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीका परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेको छ । महानगरले उक्त विषय कार्यपालिका बैठकबाट विधिसम्मत निर्णय गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि जनाएको छ ।

महानगरका प्रवक्ता नवीन मानन्धरले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी बिहीवार त्रिपुरेश्वरमा आत्मदाह गरेका नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति महानगरको तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

विज्ञप्तिमा नेपाल सरकारले गठन गर्ने छानबिन समितिलाई महानगरले पूर्ण सहयोग गर्ने उल्लेख गर्दै छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने जनाइएको छ ।

साथै नेपाल सरकारसँगको समन्वय र सहकार्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपाय अवलम्बन गरिने तथा संवेदनशील परिस्थितिमा सबैलाई संयमित रहन र धैर्य धारण गर्न महानगरले आग्रह गरेको छ ।