जनता टाइम्स

२८ असार २०८३, आईतवार १३:४६

रामेछाप नगरपालिकाले ४५ प्रतिशत विकास बजेट पनि खर्च गर्न सकेन


रामेछाप, असार २८ । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिसम्म विकास निर्माण तथा पूर्वाधारतर्फ विनियोजित बजेटको ४५ प्रतिशत पनि खर्च गर्न सकेको छैन। नगरपालिकाको पूँजीगत बजेट खर्च ४४.७४ प्रतिशतमा सीमित देखिएको हो।

नगरपालिकाले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत वित्तीय तथा कार्यक्रमगत प्रगति विवरणअनुसार पूँजीगत खर्चतर्फ विनियोजित ३३ करोड ७३ लाख ४२ हजार ९७ रुपैयाँ ५६ पैसामध्ये १५ करोड ९ लाख २३ हजार ६४५ रुपैयाँ ५६ पैसा मात्रै खर्च भएको छ।

प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले प्रस्तुत गर्नुभएको विवरणअनुसार पूँजीगततर्फ ४४.७४ प्रतिशत मात्रै बजेट खर्च भएको हो। यसले विकास निर्माण तथा पूर्वाधारका लागि विनियोजन गरिएको आधाभन्दा बढी बजेट तेस्रो चौमासिकसम्म खर्च हुन नसकेको देखाएको छ।

चालु खर्चतर्फ भने नगरपालिकाको खर्च उच्च देखिएको छ। चालु खर्चका लागि विनियोजित ५१ करोड ६३ लाख ४५ हजार ७७४ रुपैयाँ १० पैसामध्ये ४३ करोड ५५ लाख ८७ हजार ८७ रुपैयाँ ६ पैसा खर्च भएको छ। यो विनियोजित चालु बजेटको ८४.३६ प्रतिशत हो।

विकास बजेटको खर्च ४४.७४ प्रतिशतमा सीमित रहँदा चालु खर्च भने ८४ प्रतिशतभन्दा माथि पुगेको नगरपालिकाकै तथ्यांकले देखाएको छ।

नगरपालिकाको कुल अनुमानित बजेट ८५ करोड ३६ लाख ८७ हजार ८७१ रुपैयाँ ६६ पैसा रहेको छ। तेस्रो चौमासिकसम्म ५८ करोड ६५ लाख १० हजार ७३२ रुपैयाँ ६२ पैसा खर्च भई समग्र बजेट कार्यान्वयन ६८.७ प्रतिशत पुगेको जनाइएको छ।

राजस्व संकलनतर्फ भने नगरपालिकाले लक्ष्य नजिकको प्रगति गरेको छ। वार्षिक राजस्व लक्ष्य १ करोड १७ लाख ७४ हजार ७ सय रुपैयाँ रहेकोमा तेस्रो चौमासिकसम्म ९१.७९ प्रतिशत राजस्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासी सहभागी थिए। सहभागीहरूले सेवा प्रवाह, विकास आयोजना र बजेट कार्यान्वयनका विषयमा प्रश्न, जिज्ञासा तथा सुझाव राखेका थिए भने नगरपालिकाका तर्फबाट उठेका प्रश्नहरूको जवाफ दिइएको थियो।