जनता टाइम्स

२८ असार २०८३, आईतवार १७:२९

मनकारी मोहन बस्नेत : गणेश नेपालीको परिवारलाई गरे सहयोग, लिए छोरीलाई पनि पढाउने जिम्मा


काठमाडौं, असार २८ । नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ ।

कांग्रेस मुगु जिल्ला सभापति ऐनबहादुर शाहीसहितको उपस्थितिमा बस्नेतले नेपालीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउनु भएको हो । बस्नेतले गणेशकी आमालाई भेटेर आइतबार एक लाख आर्थिक सहयोग रकम उपलब्ध गराउनु भएको छ । पूर्वमन्त्री बस्नेतले गणेश नेपालीकी छोरी प्रतिमालाई स्नातक तहसम्म पढाइ दिने जिम्मा पनि लिनुभएको छ ।

परिवारका सवै सदस्यसामू बस्नेतले सो घोषणा गर्नुभएको हो । ‘जसको मृत्यु भएको छ, उहाँको पौस्टिक आहार खान र घर व्यहार मिलाउनका लागि एक लाख रुपैयाँ मैले तुरुन्त व्यवस्था गरेको छु। उक्त रकम मैले केहीबेरअघि उहाँको आमालाई भेटेर दिएको छु,’ बस्नेतले भन्नुभयो ।

छोरीलाई स्नातकसम्म पढाउने जिम्मा पनि आफूले लिएको बस्नेतले बताउनु भयो। गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका गणेशको उपचारका क्रममा शुक्रबार निधन भएको थियो। आत्मदाहका बाटो रोजेर जीवन त्यागेका गणेशको परिवारलाई सरकारले उल्टै धम्की दिइरहेको बेला पूर्वमन्त्री मोहनले नगद नै सहयोग गरी छोरी पढाउने जिम्मा लिनुभएको हो ।