काठमाडौं, ४ साउन । नेपालमा कोकिन तस्करीका लागि नयाँ प्रविधि प्रयोग भएको घटना सार्वजनिक भएको छ।
लागू औषध नियन्त्रण ब्यूरोले सिलिकनमा मिसाएर कपडाको आकारमा तयार पारिएको ४ किलो २५८ ग्राम कोकिनसहित एक कोलम्बियाली र एक भारतीय महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६२ वर्षीया कोलम्बियाली नागरिक योनेथ गार्जोन काइसेडो र ३१ वर्षीया भारतीय नागरिक रेबेका पुल्ले रहेका छन्।
ब्यूरोका अनुसार असार ३१ गते कतार एयरवेजको उडानमार्फत कोलम्बियाबाट दोहा हुँदै काठमाडौं आएकी काइसेडोलाई विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका–१६ स्थित ठमेल क्षेत्रबाट पक्राउ गरिएको हो।
उनले बोकेको सुटकेसभित्र विशेष रूपमा फल्स बटम बनाएर ब्ल्याङ्केट, सर्ट, ज्याकेट, एप्रोन तथा नेक पिलोभित्र लिक्विड कोकिनलाई सिलिकनसँग मिसाई कपडाजस्तै बनोटमा ढालेर लुकाइएको अवस्थामा ४ किलो २५८ ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धानका क्रममा उक्त कोकिन बुझ्न भारतको मणिपुरबाट काठमाडौं आएकी भारतीय नागरिक रेबेका पुल्लेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै महिलामाथि लागू औषध नियन्त्रण ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट कोकिनसहित एक थान राहदानी, भारतीय निर्वाचन आयोगको एक थान परिचयपत्र, २०० अमेरिकी डलर, चार थान मोबाइल फोन र एक थान सुटकेस बरामद गरेको जनाएको छ।
ब्यूरोका अनुसार पछिल्ला दिनमा अन्तर्राष्ट्रिय लागू औषध तस्करहरूले लिक्विड कोकिनलाई सिलिकनसँग मिसाएर कपडाको आकार र बनोटमा तयार गरी तस्करी गर्ने नयाँ तरिका अपनाउन थालेका छन्। सुरक्षा जाँच छल्न प्रयोग गरिएको यो शैली नेपालमा पनि फेला परेकाले अन्तर्राष्ट्रिय लागू औषध सञ्जालबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्